भरतपुर(चितवन), ८ भदौ । शुक्रवार अपरान्ह तनहुँको आँबुखैरेनीको ऐनापहरा नजिक भारतीय यात्रीहरु सवार भारतीय गाडी दुर्घटनाको बारेमा जानकारी लिन काठमाडौं उत्रिनुभएकी भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से आवश्यक जानकारी लिएर भरतपुरबाट मृतक यात्रुहरुको शव लिएर स्वदेश फर्कनु भएको छ ।
भारतीय वायुसेवाको विशेष विमानद्धारा काठमाडौं आउनुभएकी खड्से सोही विमान भरतपुरमा ओरालेर दुर्घटनाका मृतकहरुलाई लिएर स्वदेश फर्कनुभएको थियो ।
त्यस अगाडि उहाँले काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर दुर्घटनाका घाइतेहरुलाई भेट्नुभएको थियो । साथै उहाँले नेपालका सुरक्षा अधिकारीहरुसंग दुर्घटना र उद्धारको बारेमा आवश्यक जानकारी पनि लिनुभएको थियो ।
घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी
उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए ।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
आफ्नो देशका २७ जना नागरिकको सडक दुर्घटनामा निधन भएपछि नेपालको आकष्मिक भ्रमणमा रहनुभएकी भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे जानकारी गराउनुभएको छ ।
दुर्घटनाबारे ब्रिफिङ
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा ब्रिफिङ भएको हो । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी परिचालन भएका तथा घाइतेलाई यथाशक्य चाँडो उद्धार गरेर अस्पताल पु¥याइएको गृहमन्त्रीले बताउनुभयो । उहाँहरूको उपचारमा कुनै कमीकमजोरी हुन नदिने व्यवस्था सरकारले मिलाएको जानकारी दिँदै मन्त्री लेखकले दुर्घटनाबाट नेपाल सरकार अति दुःखी भएको बताउनुभयो ।
गृहमन्त्रीले नेपाल सरकारका तर्फबाट दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
त्यसअघि गृहमन्त्री लेखक र राज्यमन्त्री खड्सेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । उक्त अस्पतालको सघन उपचार कक्षमा तीन र अन्यको सामान्य वार्डमा उपचार भइरहेको छ ।
राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गर्नुभयो । “दुर्घटना मेरा आफन्तको पनि मृत्यु भएको छ ।” उहाँले भन्नुभयो, “उद्धारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायत सबैलाई धन्यवाद ।”
शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।