मस्को, ८ भदौ (रासस/सिन्ह्वा)। युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताउनुभएको छ ।
आक्रमण उक्त क्षेत्रका नौ जिल्लाहरूमा लक्षित गरिएको र पाँच जना घाइते भएका ग्लाडकोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा उल्लेख छ ।
रूसले गत हप्ता बेलगोरोड क्षेत्रमा सङ्घीय स्तरको आपतकालको घोषणा गरेको थियो । यहाँ युक्रेनी सेनाले रूसी सिमाना नजिक आफ्नो आक्रमण जारी राखेको छ ।
रूसी सेनाले युक्रेनी सशस्त्र सेनाको आक्रमणलाई आफ्नो क्षेत्रमा पन्छाउन जारी राखेको र युक्रेनले पछिल्लो २४ घण्टामा ३६० भन्दा बढी सैनिक र २९ वटा सशस्त्र सवारीसाधन गुमाएको रूसको रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गर्नुभएको छ ।
बाइडेनले युक्रेनका लागि सैन्य सहायताको घोषणा गर्दा आफुलाई गर्व लागेको विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
सहयोगमा युक्रेनको महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल समावेश छन् । अमेरिकाले रूसको विकसित रणनीति विरुद्ध रक्षा गर्न ‘काउन्टर–ड्रोन’ उपकरण र ‘एन्टी–आर्मर’ मिसाइल, युक्रेनी सैनिकको प्रतिरक्षाका लागि गोलाबारुद लगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ ।
बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताको साथमा रहेको उल्लेख गर्नुभयो ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सैन्य सहायताको घोषणाको प्रशंसा गर्दै युक्रेनमा विशेष गरी हवाई रक्षाको तत्काल आवश्यकता रहेको सामाजिक सञ्जाल एक्समार्फत बताउनुभएको छ ।
अमेरिकाले युक्रेनलाई एक प्रमुख सैन्य समर्थक भई सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि ५५ अर्ब डलर भन्दा बढी हतियार, गोला बारुद र अन्य सुरक्षा सहायता प्रदान गरिसकेको छ ।


















