क्वालालम्पुर(मलेसिया), १ भाद्र । मलेसियामा जारी एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज नेपालको एपीएफ फुटबल क्लब र घरेलु टोली सबाहसंग भिड्दै छ।
मलेसियाको कोटाकिनाबालु सबाहस्थित लिकास स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ।
पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नसाफसँग १–० ले पराजित एपीएफ आजको खेल जितेर सुखद अन्त्य गर्न चाहन्छ।
नेपालबाट एएफसी महिला च्याम्पियनसिप खेल्ने एपीएफ पहिलो टोली हो। महिला लिग च्याम्पियनको हैसियतमा एपीएफ एएफसी च्याम्पियनसिपमा सहभागी हुन पाएको हो।
च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुनेछन्।
च्याम्पियनसिपमा सन् २०२४ को फिफा बरियतामा शीर्ष ८ मा रहेका राष्ट्रका क्लबले सिधै समूह चरणमा स्थान बनाइसकेका छन्।
बाँकी १४ देशका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नु पर्दछ।
१४ मुलुकका क्लबलाई ४ समूहमा विभाजन गरिएको छ। चार समूहका विजेता च्याम्पियनसिपको समूह चरणमा प्रवेश गर्ने छन्।