काठमाडौँ, १२ भदौ : यो सातामा कारोबारका अघिल्ला दुई दिन लगातार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज धितोपत्र बजार परिसूचक ३.८० अङ्कले बढेर २७८६.४० विन्दुमा कायम भएको हो ।
आज २ सय २६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर एक लाख ६८ हजार एक सय ७५ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ०९, जलविद्युत् शून्य दशमलव ४९ र लगानी एक दशमलव ०१ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३, म्युचुअल फण्ड शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । व्यापार एक दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ९७, लघुवित्त एक दशमलव ०८, जीवन बीमा शून्य दशमलव ४४, वित्त एक दशमलव ६९ र विकास बैंक शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।
लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्राेपावर लिमिटेड र मिड सोलु हाइड्राेपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको रु ४३ करोड सात लाख ८६ हजार नौ सय बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्राेइलेक्ट्रिस सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० लाख ६० हजार दुई सय ८४ कित्ता शेयर खरिदबिक्री भएको छ ।