काठमाडौं, १९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । साथै उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो ।
सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताउनुभयो । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जित्नुभएको थियो ।
काठमाडौँ महानगरपालिकाद्वारा नगद पाँच लाखसहित सम्मान
काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ ।
पारा ओलम्पिक महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।
सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो ।
पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा ‘के–४४’ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन् ।
ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो । –––