Prakash Adhikari September 8, 2024

काठमाडौं, २३ भाद्र । नेपाल उद्योग वाणिज्य महासंघले प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

महासंघले गोवर्धनलाई ३ लाख रूपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख २५ हजार रूपैयाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँ सहित सम्मान गरेको हो । गोवर्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई वधाइ दिँदै यसरी सम्मान गर्न पाउदा खुशी लागेको बताउनुभयो । साथै उहाँले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्धन लगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गर्नुभयो ।

 

गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरुवात गर्नुभएको छ । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो ।

 

कार्यक्रममा काश्य विजेता गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताउनुभयो । उहाँले महिलाहरूको ५७ के.जी.के–४४ वर्गमा सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हासिल गर्नुभएको थियो।

पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैह्र नाफामूलक संस्था हो ।

Share Now