Prakash Adhikari September 8, 2024

 

सानेपा(ललितपुर), २३ भाद्र । नेपाललाई पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले रु. ५ लाख नगदहित सम्मान गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार अपरान्ह आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेकसहित सम्मान गर्नुभएको थियो ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ के.जी. तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जित्नुभएको थियो।

उहाँ पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ।

सम्मान कार्यक्रममा नेपाली कांग्रेसले खेलाडी भरतसिंह महतालाई ५० हजार र प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

सभापति देउवाले पारालिम्पिकमा पहिलो पटक नेपाललाई कास्य पदक जिताएकोमा खेलाडी, प्रशिक्षक र अफिसियल सबैलाई बधाई दिनुभएको थियो।

Share Now