काठमाडौं, २७ भाद्र ।राष्ट्रिय ध्वजावाहक विमान सञ्चालन गर्ने नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सी-चेक सकेर काठमाडौंमा अवतरण गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले नाइन एन एएलवाई संकेत चिन्हको अन्नपूर्ण जहाज नियमित सि-चेकको मर्मत पश्चात् आज १२ सेप्टेम्बर, २०२४ तारिक बिहान ८ः३६ बजे काठ्माडौंमा अबतरण गरेको जानकारी दिनुभएको छ।
यो जहाजको आगमनसंगै निगमका तीनवटा जहाजले अन्तर्राष्ट्रिय सेवा दिनसक्ने भएको छ । यसले भर्खर सुरु भएको पर्यटकीय सिजनमा नेपाल आउने पर्यटकलाई सहज बनाउने छ । साथै नेपालीहरुको राष्ट्रिय चाडबाड दशै र तिहारमा विदेशबाट स्वदेश आउने नेपाली र आफ्ना सन्ततिसंग विदेशमा दशै तिहार मनाउन जान चाहने नेपालीहरुलाई पनि निगमले भरपूर सेवा दिन सक्ने भएको छ । निगमले वाइडबडीको जहाज सेवामा फर्केसंगै लामो दुरीको जापान र अन्य क्षेत्रका अन्तर्राष्ट्रिय उडान नियमित गरेर सेवा दिन सकिने जनाएको छ ।
निगमको अन्तर्राष्ट्रिय उडानमा एअरबसले निर्माण गरेका ए ३२०-२०० सेरिजका दुई न्यारो बडी र ए ३३०-२४३ सेरिजका दुई वाइडबडीका विमान रहेका छन् । निगमका दुई वाइडबडी जहाज नियमित सी चेकका रहेका बेला न्यारो बडी नाइन एन एकेएक्स संकेत चिन्हको लुम्बिनी र नाइन एन एकेडब्ल्यु संकेत चिन्हको सगरमाथा जहाजले नियमित उडानमार्फत सेवा दिईरहेका थिए।
२०७५ असार र साउन महिनामा नेपालमा अवतरण गरेका नाइन एन एएलवाई संकेत चिन्हको अन्नपूर्ण नामक वाइड बडी र नाइन एन एएलजेड संकेत चिन्हको मकालु विमानहरुको नियमित सी चेकको समय पनि लगभग एकै समय परेकोले त्यसका लागि इटालीमा लगिएको थियो । निगमले वाइड बडीको नियमित मर्मत संभारको लागि इटालीको एमआरओलाई चयन गरेको छ।
निगमको अर्को वाइड बडी जहाज नाइन एन एएलजेड (मकालु) २८ अगष्टमा मात्र सी चेकको लागि इटाली गएकोले सो जहाज आउन भने केही हप्ता लाग्ने भएको छ ।
निगमले दशैं अगावै अन्तर्राष्ट्रिय उडान गर्ने चारै वटा विमानहरु पूर्ण क्षमतामा चल्ने अवस्था आउने पनि जनाएको छ ।
निगमले आफ्ना जहाजहरुको सामान्य मर्मत संभार नियमित रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ह्यांगरमा हुँदै आएको र त्यहाँ अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षण संस्थाबाट एरोनौटिकल इञ्जिनियरिड. पास गरेका र अन्तर्राष्ट्रिय तालिम दिने संस्थाका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत मान्यता दिएका इञ्जिनियरहरुले मर्मतसंभारको काम गर्ने गरेका छन् ।
जहाजहरुको इञ्जिन मर्मत संभार र सी चेकका लागि भने निगमले आफ्ना जहाजका इञ्जिन र सिंगो जहाजलाई ग्लोबल टेण्डर प्रक्रियाबाट छानिएका अन्तर्राष्ट्रिय मान्यता प्राप्त मर्मत संभार संस्था(एमआरओ)मा नै लैजानु पर्दछ ।
निगमले आन्तरिक उडानमा रहेका दुई ट्वीनओटर मध्ये एक जहाज नियमित उडानमा रहेको र अर्को एकको इञ्जिन फेर्ने कार्य भैरहेकोले सो जहाज दशैमा उडानमा आउने जानकारी दिएको छ ।


















