काठमाडौं, २८ भाद्र । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवाली नियुक्त हुनुभएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो।
यसअघि उहाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हुनुभएको थियो। उहाँले राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा पनि काम गरिसक्नुभएको थियो। पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत हुँदा भूकम्पबाट ध्वस्त सार्वजनिक संरचनाहरुको निर्माण र निजी भवनहरुको निर्माणमा अनुदान वितरण र निर्माणको अनुगमन र तथा निर्माण सम्पन्नतामा उहाँले उत्कृष्ट कार्य गर्नुभएको थियो । उहाँ लगानी बोर्डको कार्यकारी अधिकृत भएको बेला उहाँले भूकम्पपछिको पुनर्निमार्णमा उहाँले गर्नुभएको कामको स्मरण धेरैले गरेका छन् ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचीकृत भएका ५ जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गरेको थियो।
समितिले उनीहरुसँग मंगलबार अन्तर्वार्ता लिएर ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो।
समितिले ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगानालाई संक्षिप्त सूचीमा सूचीकृत गरेको थियो।
लगानी बोर्ड नेपालको सीईओ बन्न ८ जनाले आवेदन दिएका थिए।
यसअघि सीईओ सुशील भट्ट चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी साउन २१ मा अवकाश लिनुभएको थियो।
गत साउन २८ मा समितिले सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो।