Prakash Adhikari September 17, 2024

 

ओन्टारियो(क्यानडा), ३१ भाद्र । आइसीसी क्रिकेट विश्वकप लिग २ को छनोट चरण अन्तरगत क्यानडामा भैरहेको त्रिकोणीय श्रृखलाको पहिलो खेलमा नेपाली टिम क्यानडासंग फराकिलो रन अन्तरले पराजित भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १ सय ५० रन जोड्दा अल आउट भयो ।

सोमबारको खेलमा नेपालको ब्याटिड. ध्वस्त देखियो । नेपालका लागि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा जोडेको २२ रन नै सबैभन्दा बढी रन भयो ।शीर्ष र मध्यक्रमका सबै ब्याटर फ्लप भए । ओपनर कुशल भूर्तेल १ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउँदै आउट भए । कप्तान रोहित पौडेलले जम्मा ५ रन बनाए । गुलसन झाले २७ बलमा १५ रन जोड्दा एलबिडब्लु धरापमा परे। नेपालका चारै जना शीर्ष ब्याटर क्यानडाका तीव्रगतिका बलर डेलिन हेलिगरको बलमा आउट भएका थिए ।

अर्का ब्याटर भीम सार्कीले ३० बलमा १८ रन बनाए । भीमलाई अखिल कुमारले एलबिडब्लु धरापमा पारेका थिए ।

खेलमा क्यानडाका लागि डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । अन्श पटेल र अखिल कुमारले समान २ तथा साद विन जाफरले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोडेको थियो । नेपाली बलरहरुले ४० औं ओभरसम्म क्यानडालाई दबाबमा राखेका थिए । तर अन्तिम १० ओभर अनुकूल बनेन । क्यानडाले त्यही समय थप १ सय ४ रन जोड्यो ।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले ४४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा नटआउट ७३ रनको अर्धशतकीय ईनिङ खेले । नबनित धालीवालले ९० बलमा ४८ रन जोडे । डेलिन हेलिगरले २७ बलमा ३० रन जोडे भने हर्ष ठाकरले ६१ बलमा २७ रन । प्रगत सिंह ३५ बलमा १७ रन जोडे । सादविन जाफर १३ बलमा १७ रन जोडे ।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ ।२ तथा सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले समान १ । १ विकेट लिए ।

विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग टु मा ८ टोलीको सहभागिता रहेको छ । सोमबारको जितसँगै क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यूएई ३ खेलमा विना अंक पुछारमा छ ।

लिग टुमा सहभागी हरेक राष्ट्रले ३६ वटा ओडीआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।

Share Now