काठमाडौँ, १ असोजः राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवीकुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले पर्याप्त वर्षा भएर पयाप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको भन्नुभएको छ । शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने उहाँको विश्वास छ ।
“मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।
राष्ट्रपति पौडेलले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गर्नुभएको छ ।
कुमारी इन्द्रजात्रा, विश्वकर्मा पूजा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले चाडपर्वले परस्पर मेलमिलाप, भ्रातृत्व, प्रेमभाव, सदाचार, भाइचारा, सद्भाव र सम्मानको मार्गमा डो¥याउन सहयोग पुग्ने बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले मौलिक चिनारी र अद्भूत परिचय बोकेका यी जात्रा, पर्व, त्योहार भूगोल, भेग, क्षेत्र र समुदायगत रुपमा फरकफरक नामले मनाइए पनि यसको महत्वपूर्ण उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोगभावलाई उत्प्रेरित गर्नु रहेको उल्लेख गर्नुभएको छ । यसले मानिसको मन, वाणी र कर्ममा पवित्रता तथा शुद्धता सञ्चार गर्दै देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउन सघाउ पुग्ने विश्वासका साथ उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौँ उपत्यकालगायत देशको विभिन्न भूभागमा अत्यन्तै हर्षोल्लास र धुमधामका साथ मनाइने इन्द्रजात्रामा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजाअर्चना गर्ने परम्परा छ । यस अवसरमा ठड्याउने लिङ्गो र विश्वमै अनौठो परम्परा जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो ।
त्यस्तै, प्रत्येक वर्षको कन्या सङ्क्रान्तिका दिन शिल्पकार, कालीगढ, उद्योगपति तथा सवारीसाधनका मालिकलगायतले निर्माण, वास्तुकला, औजार÷यन्त्र, सृजन, शिल्पकला, मूर्तिकला र सवारीसाधनका देवताका रुपमा भगवान विश्वकर्माको पूजा (विश्वकर्मा जयन्ती) पनि भक्तिभाव र श्रद्धाभावका साथ मनाउने परम्परा छ ।
आजकै तिथिमा तराई–मधेसतिर देवी लक्ष्मी र भगवान् विष्णुको धार्मिक विधिविधानअनुसार पूजाअर्चना गर्दै अनन्त चतुर्दशी (अनवत) बनाउने मौलिक परम्परा छ । यस अवसरमा श्रद्धालुले भगवान् विष्णुको अनन्त रुपको प्रतीक, १४ वटा गाँठो हालिएको विशेष खालको अनन्त सूत्र (डोरो) पाखुरामा बाँध्ने चलन छ ।
—
—


















