Prakash Adhikari September 19, 2024
काठमाडौँ, २ असोज । नेपालले कुष्ठरोग निवारणको लागि राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
कुष्ठरोग निवारणका लागि  विश्वस्वास्थ्य संगठनका सद्भावना राजदूत तथा  ‘द निप्पोन फाउण्डेसन’का अध्यक्ष योहेइ सासाकावासंगको भेटवार्तामा प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो कुरा बताउनुभएको हो ।
सासाकावाको टोली अहिले नेपालमा कुष्ठरोगको अवस्था र त्यसको निवारणका लागि भएका प्रयासहरुको जानकारी लिन र स्थलगत अवलोकन गर्न नेपाल भ्रमणमा आएको छ । सासाकावालाई लाई संयुक्त राष्ट्र संघले सन २००१ मा  कुष्ठरोग निवारणको लागि सद्भावना दूत नियुक्त गरेको थियो । उहाँका पिताले सन १९७४ स्थापना गर्नुभएको सासाकावा हेल्थ फाउण्डेशनका मानार्थ अध्यक्ष तथा सन १९६२ मा स्थापित द निप्पोन फाउण्डेशनका अध्यक्ष रहनुभएका सासाकावा अहिले सासाकावा ल्याप्रोसी इनिसिएटिभ मार्फत कुष्ठरोग निवारणका कार्यक्रमहरुलाई विश्वव्यापी सहयोग र समर्थन गर्दै आउनुभएको छ ।
कुष्ठरोग शून्य बनाउने र प्रभावितहरुलाई सबै प्रकारका पीडाबाट मुक्त पार्ने उद्देश्यले साकाकावा, निप्पोन पाउण्डेशन र सासाकावा हेल्थ फाउण्डेशनको संयुक्त प्रयासमा सन २०२० बाट आरम्भ गरिएको यो इनिसियटिभ एक रणनीतिक गठबन्धन हो ।
भेटका अवसरमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाललाई सन २०३० सम्म कुष्ठरोग शून्य पार्ने प्रतिबद्धता जनाउनु भएको र त्यसै अनुरुप सरकारले स्वास्थ्य कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने पनि बताउनु भएको थियो ।
कुष्ठरोग निवारणलाई उच्च प्राथमिकता दिने र ६ बर्षभित्र कुष्ठरोग शून्य बनाउने प्रधानमन्त्रीको प्रतिबद्धताको सासाकावाले सराहना गर्नुभएको छ । इनिसिएटिभले यस्तो प्रयासलाई सहयोग र समर्थन गर्ने वचन पनि दिनुभएको छ । आगामी बर्ष सासाकावा अध्यक्ष रहेको निप्पोन फाउण्डेशनले विश्व स्वास्थ्य संगठनलाई कुष्ठरोग निवारणका कार्यक्रममा सहयोग गर्न थालेको ५० बर्ष पुग्दछ । उहाँले नेतृत्व गर्नुभएको निप्पोन फाउण्डेशन र सासाकावा फाउण्डेनले सन १९७५ देखि विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्दै आइरहेका छन् ।
 कुष्ठपीडितको उपचार गरौ, हेला नगरौ
बुधबार अपरान्ह राजधानीमा आयोजित पत्रकारसम्मेलनमा बोल्दै सासाकावाले समयमै उपचार गरे कुष्ठरोग निको हुने भएकोले कुष्ठपीडितको उपचारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
समयमै उपचार गरे स्थायी अपाङ्गता हुनबाट बच्न सकिने उहाँले  बताउनुभएको छ ।
उहाँले कुष्ठरोगबाट हुने स्थायी अपाङ्गतालाई रोक्नका लागि प्रारम्भिक पहिचान र उपचार आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष योहेइले भन्नुभयो, “कुष्ठरोगको डर र सामाजिक कलङ्कको जरा गहिरो छ, यो रोगको छवि परिवर्तन गर्न तथा भेदभाव हटाउनका लागि अझैै काम गर्न बाँकी छ । हामीले शून्य कुष्ठरोगको परिकल्पना लिएका छाँै, जसले रोगसँग सम्बन्धित सबै प्रकारका पीडाहरुबाट मुक्त संसारको निर्माण गर्न सकोस् ।”
द निप्पोन फाउण्डेसनले सन् १९७५ देखि विश्वस्वास्थ्य सङ्गठनमार्फत कुष्ठरोग प्रभावित देशका राष्ट्रिय कुष्ठरोग कार्यक्रमलाई सहयोग गर्दै आएको छ । उहाँ कुष्ठरोग र यसको साथमा जोडिने कलङ्क र सामाजिक भेदभावविरुद्धको लडाईमा ४० वर्षभन्दा बढी समयदेखि प्रतिबद्ध भएर लडिरहनुभएको छ । अध्यक्ष योहेइ कुष्ठरोग प्रभावित व्यक्तिहरुको मानवाधिकारका लागि सन् २००७ देखि हालसम्म जापानी सरकारका सद्भावनादूत नियुक्त हुनुभएको थियो । त्यस्तै उहाँ सन् २००१ देखि हालसम्म विश्वस्वास्थ्य सङ्गठनद्वारा कुष्ठरोग निवारणका लागि सद्भावनादूतका रुपमा कार्यरत हुनुहुन्छ ।
नेपालमा सन् १९६० मा पहिलो पटक कुष्ठरोगको सर्वेक्षण भएको थियो । सन् १९६६ मा नेपालमा कुष्ठरोगको डप्सन मोनोथेरापीमार्फत उपचार पद्धति सुरु भएको थियो । सन् २०२१ मा शून्य कुष्ठरोगको मार्गचित्र तयारी गरिएको थियो । नेपालमा आर्थिक वर्ष २०७९र८० मा २ हजार ५ सय २२ नयाँ कुष्ठरोगका नयाँ केश देखिएको थियो । हाल ३४ जिल्लामा कुष्ठरोग शून्य छ ।
कुष्ठरोग अझै पनि १ सय २० भन्दाबढी देशमा रहेको छ । सन् २०२२ मा विश्वमा १ लाख ७४ हजार ८७ नयाँ केशहरु भेटिएको तथ्याङ्क छ । विश्वभर निःशुल्क उपलब्ध मल्टिड्रग थेरापीमार्फत कृष्ठरोगको उपचार गरे निको हुन्छ । यो एक सङ्क्रामक रोग हो । जसले मुख्यतया छाला र परिधीय स्नायुलाई असर गर्छ । यो रोग सिँगान तथा तरल पदार्थ, र्याल, थुक वा खकारबाट सर्दछ ।
प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग भेट ; राससको अवलोकन 
अध्यक्ष योहेइ नेतृत्वको प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष योहेइले कुष्ठरोग निवारणका लागि गरेका कामका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा कुष्ठरोग निवारणका लागि गरेको योगदानका लागि अध्यक्ष योहेइलाई धन्यवाद दिनुभएको थियो । आजै सो प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
विश्वमै कुष्ठरोग निवारणका लागि अनवरत लागिरहनुभएका जापानको ‘द निप्पोन फाउण्डेसन’का अध्यक्ष योहेइ सासाकावा नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार रासस केन्द्रीय कार्यालयको अवलोकन गरेको थियो ।
नेपाल ेकाभ्रमणमा आएको उक्त प्रतिनिधिमण्डलले नेपालकै पहिलो रासस मिडिया सङ्ग्रहालय चासोका साथ अवलोकन गरेको थियो ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस सेवाका साथै सङ्ग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो । द निप्पोन फाउण्डेसनले सन् १९७५ देखि विश्व स्वास्थ्य सङ्गठनमार्फत कुष्ठरोग प्रभावित देशका राष्ट्रिय कुष्ठरोग कार्यक्रमलाई सहयोग गर्दै आएको छ ।
प्रतिनिधि मण्डलाई राससका अध्यक्ष धर्मेन्द्र झाले  राससको समाचार संकलन,सम्पादन र सम्प्रेषण शैली, सांगठानिक संरचना र हालै स्थापना गरिएको सञ्चार सङ्ग्रहालयको बारेमा जानकारी दिनुभएको थियो । उहाँले उहिलेकोपत्रकारिताको अवस्था, पत्रकारितामा प्रयोग भएका सामग्री अहिले उपयोगमा नरहे पनि यसले आउने पुस्तालाई पत्रकारिताको इतिहासबारे जानकारी दिने भएकाले सङ्ग्रहालय स्थापना गरिएको बताउनुभयो । सङ्ग्रहालयमा मिडियासँग सम्बन्धित सामग्रीको सङ्ख्या निरन्तर बढाउँदै लैजाने योजना रहेको कार्यकारी अध्यक्ष झाले जानकारी दिनुभयो ।सङ्ग्रहालयमा विसं २०१८ देखि राससमा प्रयोग भएका समाचारसम्बन्धी उपकरणसहित ४६ प्रकारका सामग्री राखिएका छन् ।
सासाकावाको टोली आज आनन्दबन लेप्रोसी अस्पतालको अवलोकन भ्रमण गर्ने, भोलि नेपालमा कुष्ठरोग निवारणका क्षेत्रमा काम गर्ने निकायका पदाधिकारी र संस्थाहरुसंग सामूहिक भेट गर्ने र तराईमा कुष्ठरोगको अवस्थाको जानकारी लिन जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ लालगढ अस्पतालमा पुगेर  कुष्ठरोगका पुराना र नयाँ बिरामीको अवस्थाको जानकारी लिने कार्यक्रम छ ।
Share Now