ओन्टारियो(टोरन्टो,क्यानडा), ३ असोज । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाली राष्ट्रिय टोली ओमानसँग पराजित भएको छ ।
क्यानडाको ओन्टारियोस्थित किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो ।
आज सम्पन्न खेलमा टस जितेर ब्याटिड. रोजेको नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेपछि ओमानलाई अन्तिम २ ओभरमा १ विकेट रहँदा १० रन चाहिएको थियो । ४९ औं ओभरमा करण केसीले २ रन मात्र दिए । अन्तिम ओभरमा ८ रन आवश्यक पर्दा शकिल अहमदले दोस्रो बलमा चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्याए । अन्तिम २ बलमा २ रन आवश्यक हुँदा कलिमउल्लाहले चौका प्रहार गर्दै ओमानलाई जित दिलाए ।
ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर सिंहलाई सन्दिप लामिछानेले आउट गराएका थिए । सिंहले ४९ बलमा ४१ रन बनाएर आउट भए । सिंह १६औं ओभरको पहिलो बलमा लामिछानेको एलबिडब्लु धरापमा परेका हुन् ।
ओमानका अर्का ओपनर कश्यप प्रजापतीले ५२ बलमा ३६ रन जोडे । प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको हातबाट क्याच आउट गराए । प्रजापती ५२ बलमा ३६ रन बनाउदै आउट भएका थिए । प्रजापतीले अर्का ओपनर सिंहसँग मिलेर ७५ रनको साझेदारी गरेका थिए । प्रजापती २०औं ओभरको दोस्रो बलमा आउट भएका थिए ।
ओमानले तेस्रो विकेटका रुपमा ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको थियो । इल्यास २५औं ओभरको तेस्रो बलमा गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । खेलमा ओमानका अथाभाले र सोयब खानले समान २६ तथा खलिद कैलले १७ रन जोडे ।
नेपालका लागि गुलसन झाले १० ओभरमा ४७ रन खर्चिएर ५ विकेट लिए । करण केसीले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
नेपालद्वारा २ सय २१ रनको लक्ष्य प्रस्तुत
यस अगाडि टस हारेर ब्याटिड. गर्न पुगेको नेपालले निर्धारित ५० ओभरको खेलमा २ सय २० रन जोड्दै ओमनलाई २ सय २१ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्थशतकीय इनिङ खेल्दै ७२ बलमा ६० रन जोडेका थिए । उहाँले दुई चौका र चार छक्क प्रहार गरे । खेलको सुरुआतमा अर्जुन साउद तेस्रो ओभर खेल्दा पाँच रन बनाएर बाहिरिएका थिए ।
खेलमा आसिफ शेख र भीम सार्की ११–११ रन बनाएर आउट हुँदा नेपालले १३ दशमलव ३ ओभरमा ३१ रन बनाउन सकेको थियो । त्यसपछि कप्तान पौडेलले आरिफ शेखसँग साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्हालेपछि सेख ८८ बलमा ३५ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका गुल्सन झाले ३५ बलमा ५३ रन जोडे । त्यसक्रममा उनले तीन चौका र पाँच छक्का प्रहार गरे । खेलको अन्तिममा सोमपाल कामीले २० रन तथा सन्दीप लामिछानेले ११ रनको योगदान दिएका थिए।
ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए ।
जित पछि ओमान ५ खेलमा ५ अंकका साथ छटौं स्थानमा छ । पराजित नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।
यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।
सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।
ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।
त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।