Prakash Adhikari September 20, 2024

 

माले(माल्दिभ्स्), ४ असोज । मालदिभ्समा भइरहेको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब लिग चरणको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको छ ।

खेलेका सबै ४ खेल जितेर ११ अंक जोड्दै नेपाल पुलिस क्लब फाइनलमा पुगेको हो । बिहीवार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्सको घरेलु टोली वाम्कोलाई ३ २ को सेटमा पराजित गरेको थियो ।

रोमान्चक पहिलो सेट पुलिसले २१–२५ ले गुमायो । दोस्रो सेट भने पुलिसले २५–२० ले सेट आफ्नो पक्षमा पार्‍यो।

तेस्रो सेटमा भने वाक्कोले २१–२५ ले जित हात पार्यो । चौथो सेट २५(१८ ले आफ्नो बनाउँदै पुलिसले खेल २–२ मा ल्याएको थियो।

पाँचौं तथा निर्णायक सेट पुलिसले १५–१३ ले आफ्नो बनाउँदै अपराजित यात्रा कायमै राख्यो । पुलिसले‌ चौथो खेलमा आएर सेट हारेको थियो।

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स र तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३(० को सेटमा नै पराजित गरेको थियो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । नेपाल पुलिसले आज समूह चरणको‌ अन्तिम खेलमा माल्दिभ्स पुलिस सर्भिसको सामना गर्नेछ ।

कप्तान कमला पुनको नेतृत्वमा रहेको नेपाल पुलिसको भलिबल टोलीमा उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द रहेका छन् ।

पुलिस क्लब टिमको मुख्य प्रशिक्षकमा रुपेश विष्ट र सहायक प्रशिक्षकमा सुशिला थापा रहनुभएको छ ।

Share Now