काठमाडौं, ५ असोज । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा सहभागी बन्न चाहने खेलाडीहरुको लागि अक्सन (बोलकबोल)मा संलग्न हुन खेलाडीको नाम दर्ता खुलाएको छ।
क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै एनपीएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिएको छ । खेलाडीले कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
क्यानले नाम दर्ताका लागि असोज १२ गतेसम्मको समयसीमा तोकेको छ। खेलाडी दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ।
दसैंअघि नै खेलाडीको अक्सन हुने बताइएको छ। यसअघि क्यानले आठ टीमका मार्की खेलाडी घोषणा गरिसकेको छ।
यसपटकको एनपीएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन्।
क्यानले यी टिमका मार्की खेलाडी पनि घोषित गरिसकेको छ । गोलाप्रथामार्फत् खेलाडी आबद्ध भएको टोली घोषणा गर्दा रोहित पौडेल – लुम्बिनी,दिपेन्द्रसिंह ऐरी –सुदूरपश्चिम,कुशल भुर्तेल – पोखरा, सोमपाल कामी कर्णाली, करण केसी – काठमाडौं , सन्दीप लामिछाने – विराटनगर , आसिफ शेख – जनकपुर र कुशल मल्ल – चितवनको मार्की खेलाडीमा चयन भएका थिए । नेपाल क्रिकेट संघले मार्की खेलाडीलाई प्रत्येकलाई २० लाख पारिश्रमिक दिने घोषणा गरेको छ ।
मार्की खेलाडीको काम टिम बनाउने हुने छ । उनीहरुले क्यानले निर्धारित गरेको क्राइटेरियामा रहेर अक्सनमार्फत खेलाडी चयन गर्नुपर्ने छ । विदेशी खेलाडीको हकमा भने क्यानसंगको समन्वयमा आपसी निगोसियसनबाटै खेलाडी भित्र्याउन पाउने सहुलियत क्यानले दिएको छ । विदेशी लिगमा भने अन्तर्राष्ट्रिय खेलाडीको पनि कोटा निर्धारण हुने त्यो पनि अक्सनमार्फत लिनुपर्ने व्यवस्था हुन्छ । अघिल्लो सिजनमा रहेका खेलाडीहरु अनुबन्धन गर्न चाहने टिमले पहिल्यै त्यसको जानकारी गराउछन र कुनै एक टिमले छोड्ने खेलाडी अक्सनमा अर्को टिमले लिन पाउछ ।
एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजना एनपिएल आफैले पहिलो पटक आयोजना गर्न लागेको हो।
क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ।
ती बाहेकका खेलाडीलाई अक्सनमार्फत छानिनेछ।


















