Prakash Adhikari September 21, 2024

माले(माल्दिभ्स्), ५ असोज । नेपाल पुलिस क्लबले काभा महिला क्लब च्याम्पियनसिप २०२४ को उपाधि जितेको छ।

माल्दिभ्सको मालेमा शनिवार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

नेपाल पुलिस लिग चरणमा अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो ।

पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित निकाल्दै पुलिस च्याम्पियन भएको हो ।

पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३-० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो ।

पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३-२ सेटको जित निकालेको थियो। त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो।

शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३-१ ले पराजित गरी उच्च मनोबलकासाथ फाइनलको प्रतिक्षा गरेको थियो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो ।

च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप‌ टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो।

सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ साउनमा काभा नेसन्स लिगको‌ रजत पदक विजेता टोलीमा थिए ।

त्यस्तै पुलिसमा साउनमा नै भुटानमा भएको काभा बीच भलिबलमा स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरी पनि छन् । कमलाकै कप्तानीमा पुलिसले काभा क्लब च्याम्पियनसिप जितेको छ ।

कमला पुन‌ (कप्तान)को कप्तानी रहेको पुलिसको भलिबल टोलीमा उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल र लक्ष्मी चन्द रहेका थिए भने मुख्य प्रशिक्षकमा रुपेश विष्ट र सहायक प्रशिक्षकमा सुशिला थापा रहनुभएको थियो । यो टोलीको व्यवस्थापक द्धयमा श्रवणकुमार झा र भरत कार्की रहनुभएको छ ।

Share Now