Prakash Adhikari September 23, 2024

ताईपेई(ताइवान), ७ असोज । ताइवानमा जारी एएफसी यू–२० एसियन कप २०२५ छनोट चरणको खेलमा नेपाली युवा टिमले पहिलो जित हात पारेको छ।

सोमबार चाइनिज ताइपेई(ताइवानको राजधानी ताईपेई)मा भएको खेलमा नेपालले ३–१ को फराकिलो जित हात पारेको हो।
खेलमा नेपालका तर्फबाट तीनवटै गोल समीर तामाडंले गरेका थिए ।

खेलमा ह्याट्रिक गरेका समीरले पहिलो गोल खेलको ३२ औँ मिनेटमा गरेका थिए । त्यस लगत्तै खेलको ३५ औँ मिनेटमा समीरले अर्को गोल प्रहार गरेर नेपालले अग्रतालाई दोब्बर पारे।

पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा याङ चाओ–जिङको गोलमा घरेलु टोली खेलमा फर्कने संकेत गरेको थियो।

यद्यपी खेलको ८४ औँ मिनेटमा समीरले ह्याट्रिक पूरा गर्दा नेपालको जित पक्का गरे।

शनिबार भएको पहिलो खेलमा नेपाली युवा टोलीले कम्बोडियासँग ४–१ को फराकिलो पराजय व्यहोरेको थियो।

जारी एएफसी यु २० एशियन कप छनोट खेलका समुह बी मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया रहेको छ।

नेपालले उज्वेकिस्तान र बहराइनसंग खेल्न बाँकी छ । नेपालले उज्वेकिस्तानसंग २५ सेप्टेम्बरमा खेल्ने छ भने बहराइनसंग २७ सेप्टेम्बरमा ।

सन् २०२५ मा हुने एएफसी यू–२० एसियन कप छनोटमा ४५ राष्ट्रको सहभागी छन्।

यी टोलीलाई १० समूहमा विभाजन गरिएको छ। १० समूहको विजेता र ५ उत्कृष्ट उपविजेताले यू–२० एसियन कपमा स्थान बनाउनेछन्।

Share Now