Prakash Adhikari September 24, 2024

,

ओन्टारियो(टोरण्टो, क्यानडा) । आइसीसी विश्वकप लिग टु अन्तर्गतको क्यानडा त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल आज आफ्नो अन्तिम तथा चौथो खेलमा ओमानसँग खेल्दैछ ।

लगातार तीन खेल हारेका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको ओन्टारियोस्थित किंग्स सिटी क्रिकेट मैदानमा खेल्दैछ ।

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएको थियो ।

लिग टु को ७ खेलमा नेपालले निरन्तर ५ हारको सामना गरिसकेको छ ।

नेपाल क्यानडा सिरिजमा कम्तिमा एक खेल जितेको रेकर्ड राख्न चाहन्छ । यसका लागि उसले आज ओमानलाई हराउनु पर्दछ । त्यसैले नेपालको लागि आजको खेल गर कि मरको स्थितिमा रहेको छ । यसअघि नेपालमै भएको विश्वकप लिग टुको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्समाथि जित हासिल गरेको थियो ।

लिग टुको अंक तालिकामा नेपाल ७ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ६ खेलमा ५ अंकका साथ छैटौं स्थानमा छ ।

ओडिआई सिरिज पछि नेपालले क्यानडा र ओमानसग नै त्रिकोणात्मक टी २० आई सिरिज खेल्नेछ ।

Share Now