काठमाडौँ, १२ असोजः चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।
पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।
प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उहाँले बताउनुभयो । यादवका अनुसार सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो ।
दमौली (तनहुँ), १२ असोजः दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिराका कारण अवरुद्ध भएको छ । उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।