काठमाडौं, १३ असोज १३ । मित्रराष्ट्र चीनको भ्रमणमा जानुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज दिउँसो स्वदेश फर्कनु भएको छ ।
आफू विदेश भ्रमणमा रहेको बेला देशका विभिन्न भागमा परेको अविरल बर्षापछि आएको भीषण बाढी र पहिरोले जनधनमा पुर्याएको ठूलो क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभएको छ । प्राकृतिक प्रकोपको असरलाई न्यूनीकरण गर्दै यसबाट प्रभावितहरुको उद्धार, राहत,पुनस्थापना र यसले क्षति पुर्याएका भौतिक संरचनाहरुको पुनर्निर्माणमा सरकारले कुनै कसर नराख्ने उहाँले बताउनुभएको छ।
उहाँले अहिलेको परिस्थितिलाई सरकारका सबै तह, देशमा क्रियाशील राजनीतिक शक्ति र देशको सामाजिक, आर्थिक र भौतिक पूर्वाधारको विकासमा कार्यरत निजी तथा गैरसरकारी क्षेत्र एकजुट भइ सामना गर्ने र छिट्टै सामान्य अवस्थामा फर्काउन सकिने विश्वास व्यक्त गर्दै सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्यता कायम राख्न पनि आग्रह गर्नु भएको छ ।
देशमा देखिएको बाढीपहिरोको प्रकोपलाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी उद्धार राहत र पुनस्थापना तथा पुननिर्माणसम्बन्धी छलफलमा जुट्नु भएको छ ।
अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीनको औपचारिक भ्रमणमा जानु भएको थियो ।