Prakash Adhikari October 1, 2024

काठमाडौं, १५ असोज । उदार हृदय र सहयोगी भावनाका धनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गर्नुभएको छ।

अध्यक्ष गुरुड. दम्पतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्राकृतिक विपत्ति उद्धार कोषमा जम्मा हुने गरी एक करोड, ११ लाख, ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सोमबार गुरुङ दम्पतीले उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गर्नुभएको जानकारी प्रधानमन्त्री ओलीले फेसबुकमार्फत दिनुभएको हो । प्रधानमन्त्रीले लेख्नुभएको छ, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार १ सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’

बाढी पहिरोका कारण जनसँगै अर्बौको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको गुरुङले बताएका छन् । गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा सातै प्रदेशमा निर्माण गर्ने बाल अस्पतालको लागि ४१ करोड बराबरको सहयोग गर्नुभएको थियो। यस परियोजनाको पहिलो अस्पताल राजधानीको चपलीमा निर्माणाधीन अवस्थामा छ ।

अघिल्लो वर्ष जाजरकोट भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको थियो । त्यसबाहेक पनि उहाँले ८० लाख बराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाउनुभएको थियो ।

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उहाँले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गर्नुभएको थियो । ृउहाँले ११ करोड लागतमा इमर्जेन्सी भवन र ईएचएस भवन १५ करोड लागतमा निर्माण गरिदिनुभएको हो ।

Share Now