-हुगो बचेगा र डेभिड ग्रिटन
तेलअभिभ(इजरायल), १७ असोज । इजरायली सेनाले दक्षिण लेबनानमा लडाइँका क्रममा आफ्ना आठ जना सैनिकको मृत्यु भएको जनाएको छ।
लेबनानी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध स्थल आक्रमण सुरु गरेयताको यो इजरायलले बेहोरेको पहिलो मानवीय क्षति हो।
इरान समर्थित हिज्बुल्लाहले लडाइँमा इजरायली ट्याङ्कहरू ध्वस्त पारेको जनाउँदै इजरायली फौजलाई फिर्ता पठाउन आफूसँग पर्याप्त बल र अस्त्र भएको जनाएको छ।
यसअघि इजरायली सेनाले थप स्थल सेना र बख्तरबन्द फौज लेबनानमा भइरहेको कारबाहीमा जोडिएको जनाएको छ।
लेबनानमा निकै प्रभावशाली हिज्बुल्लाह के हो ?
इजरायलले उक्त कारबाहीको उद्देश्य लेबनानी सीमावर्ती गाउँका “आतङ्कवादी पूर्वाधार” नष्ट गर्नु रहेको जनाउँदै आएको छ।
लेबनानमा स्थल अतिक्रमण गरेको दोस्रो दिन इजरायली फौजले पहिलो पटक हिज्बुल्लाह लडाकुको सामना गरेका थिए।
इजरायल डिफेन्स फोर्सेस (आइडीएफ)ले बुधवार एक विज्ञप्तिमार्फत् हवाई सेनाको साथ पाएका आफ्ना सैनिकहरूले कैयौँ दक्षिण लेबनानी क्षेत्रमा “आतङ्कवादीहरूलाई मारेको र उनीहरूका आतङ्कवादी पूर्वाधारलाई ठिक निशानामा पर्ने अस्त्र र नजिक दूरीबाट लडेको” जनाएको थियो।
पछि आइडीएफले त्यस क्रममा आफ्ना आठ जना सैनिक मारिएको घोषणा गर्यो। ती धेरैजसो कमान्डो थिए।
विवरणहरूका अनुसार छ जनालाई हिज्बुल्लाह लडाकुहरूले एम्बुसमा पारेका थिए भने अन्य दुईजना मोर्टार हमलामा परेका थिए।
हिज्बुल्लाहले आफ्ना दर्जनौँ लडाकुले इजरायली कमान्डोहरूतर्फ ट्याङ्कभेदी मिसाइल प्रहार गरेको जनाउँदै बुधवार एक सीमावर्ती गाउँमा भएका लडाइँका क्रममा दर्जनौँलाई मारेको र घाइते बनाएको जनाएको छ।
मध्य बेइरुतमा इजरायली हमला
यसैबीच मध्य बेइरुतमा भएको एक इजरायली हवाई हमलामा परेर कम्तीमा पाँच जना मारिनुका साथै आठजना घाइते भएको लेबनानी अधिकारीहरूले बताएका छन्।
उक्त बहुतले भवनमा एक हिज्बुल्लाहसम्बद्ध स्वास्थ्य केन्द्र रहेको छ र त्यो लेबनानको संसद् र संयुक्त राष्ट्रसङ्घको क्षेत्रीय मुख्यालयको केही मिटर दूरीमा छ।
यो बेइरुतको मध्यभागमा भएको पहिलो इजरायली हमला हो। बुधवार रातभर अन्य हमलाहरू भने बेइरुतको दक्षिणी उपनगर दाहियमा भएका थिए।
बुधवार साँझ लेबनानको स्वास्थ्य मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा ४६ जना मानिसहरू मारिनुका साथै ८५ जना घाइते भएको जनाएको थियो।
तर उसले त्यसमा सर्वसाधारण र लडाकुहरूको वर्गीकरण गरेको छैन।
लेबननमा १२ सय जना मारिए, १२ लाख विस्थापित
दुई सातादेखिका इजरेली हमलाका कारण हिज्बुल्लाह कमजोर बनेको छ।
अन्य हमलाहरूमा समेत गरेर लेबननमा १ हजार २ सय भन्दा धेरै मानिसहरू मारिनुका साथै झन्डै १२ लाख जना विस्थापित बनेको लेबनानी अधिकारीहरूले बताएका छन्।
गाजा युद्ध सुरु भएसँगै झन्डै एक वर्ष सीमापारका लडाइँ चलेपछि इजरायल आक्रामक बनेको छ।
इजरायलले हिज्बुल्लाहका हमलासँगै विस्थापित बनेका सीमा क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूका घर फर्काउने काम सुनिश्चित गर्न चाहेको जनाएको छ।
हिज्बुल्लाह लेबनानमा उल्लेख्य शक्ति भएको शिया इस्लामिक राजनीतिक, सैन्य र सामाजिक सङ्गठन हो जसले हमासलाई साथ दिनेगरी इजरायलसँग लडिरहेको बताउँछ।
इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरायल, यूके र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्।