नवलपरासी, १९ असोज । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टरको निमार्ण सुरु गरिएको छ ।
बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब रु १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निमार्ण कार्य सुरु भएको हो ।
सोही क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीको अगुवाईमा निर्माणको चरणमा पुगेको राजधानीबाहिरको पहिलो ट्रमा सेन्टरको शिलान्यास स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गर्नुभएको थियो ।
ट्रमा सेन्टरको शिलान्यासपछि सांसद चौधरीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “माननीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा ट्रमा सेन्टरको सिलान्यास गर्न पाउँदा अत्यन्त खुशी छु। यस परियोजनालाई सफल बनाउन अहोरात्र खटिनु भएका सबै व्यक्ति र सम्बन्धित निकायलाई विशेष धन्यवाद। राजधानी बाहिरको पहिलो ट्रमा सेन्टर नवलपरासीमा स्थापना हुनु नवलपरासीवासी मात्र नभई सम्पूर्ण राष्ट्रका लागि गर्वको कुरा हो। सबैमा हार्दिक नमन्।”
सांसद चौधरीले यो ट्रमा सेन्टरको स्थापनाले दाउन्नेपश्चिमको क्षेत्रमा हुने दुर्घटना र अन्य चोटपटक जन्य घट्नामा घाइते भएका नागरिकहरुले छिटो र स्तरीय सेवा पाउने विश्वास व्यक्त गर्नुभएको छ । यो सेन्टरले सो भेगका स्वास्थ्य सेवाप्रवाहलाई पनि सहज बनाउने छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयम ल्याएको बताउनुभयो । ट्रमा सेन्टर निर्माण पश्चात जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।
डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निमार्ण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।