बेइरुत(लेबनान), २१ असोज(बीबीसी) । लेबनानमा हिज्बुल्लाहविरुद्धको युद्धलाई इजरायलले तीव्रता दिएयता दक्षिण बेइरुतमा शनिवार राति सबैभन्दा खराब इजरायली बम हमलाहरू भएका छन्।
लेबनानको राजधानी भन्दा दक्षिणी भागमा ३० वटा भन्दा बढी हवाई हमलाहरू भएका थिए।
एउटा भीषण गोलाकार आगोको लप्का बेइरुतको आकाशमा शनिवार राती देखिएको थियो। कतिपयले इन्धन डिपोमा हमला भएका कारण उक्त आगो देखिएको हुनसक्ने जनाएका छन्।
उक्त क्षेत्र खाली गर्न सर्वसाधारणलाई भनिएको छ। इजरायलले हिज्बुल्लाहका निशानाहरूमाथि हमला जारी राखेको छ।
इजरायली डिफेन्स फोर्सले दक्षिणी सीमाबाट ३० वटा जति रकेट इजरायलको उत्तरी शहर किर्यात शमोनातर्फ प्रहार गरिएको उल्लेख गरेका छन्।
हिज्बुल्लाहले चाहिँ आफ्ना लडाकुहरूले लेबनानको गाउँमा घुसपैठ गर्न खोजेका इजरायली फौजलाई धपाएको उल्लेख गरेको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले शनिवार राति देशका विभिन्न ठाउँमा भएका इजरायली हमलामा कम्तीमा २३ जनाको मृत्यु भएको र थप ९३ जना घाइते भएको जनाएको छ।
बेइरुतमा भीषण आगोको गोला
बीबीसीकी मध्यपूर्व संवाददाता नफिसे कोहनभार्डले आफ्नो बाल्कोनीबाट दक्षिण बेइरुतमा हवाई हमला भएको लगभग दुई घण्टापछि पनि आगो बलेको र बत्ती चम्किएको दृश्यहरू देखिएको बताउनुभयो ।
कतिपय सार्वजनिक स्रोत र अस्त्र विज्ञहरूले सामाजिक सञ्जाल एक्समा उक्त स्थल अस्त्र डिपो वा इन्धन स्टेसन भएको हुनसक्ने जनाएका छन्। इजरायली डिफेन्स फोर्सले आफूले हिज्बुल्लाहको निशानामा आक्रमण गरेको जनाएको छ।
नफिसे कोहनभार्ड भन्नुहुन्छ, “दोस्रो ठूलो विस्फोटनको क्षणमा मैले खिचेको भिडिओमा धेरै सङ्केतहरू देख्नसकिन्छ। त्यो भीषण आतसबाजी जस्तो थियो।”
कतिपय अवस्थामा विस्फोटनको आवाज सानो भए पनि बेला बेलामा त्यो आवाज भीषण हुने गरेको र उक्त क्षेत्रमा निरन्तर भइरहेको इजरायली हवाई हमलाको ध्वनीसँग त्यो मिसिने गरेको उहाँले सुनाउनुभयो।
त्यसबाहेक ड्रोन उडिरहेको आवाज पनि उक्त क्षेत्रमा निरन्तर आएको थियो। कतिपयले त्यसलाई निगरानीका लागि आइडीएफले कम उचाइमा खटाएको ड्रोन भन्ने गरेका छन्।
उक्त हमला बिहान सुरु हुन लाग्दासम्म भएको थियो। बेइरुतको बाहिरी क्षेत्रमा रातीको समयमा भएको सबैभन्दा खराब हमलाका रूपमा उक्त आक्रमणलाई लिइएको छ। आइडीएफले उद्धारका लागि चेतावनी जारी गरेपछि हवाई हमलाहरू गरिएका थिए।
भारी हवाई हमलाका क्रममा भएका विस्फोटन र जम्मा भएका भग्नावशेषका कारण उक्त क्षेत्रका सडकहरू भत्किएका थिए भने मानिसहरू खाली खुट्टै भागेका थिए।
युद्धविरामका लागि अपिल
गएराति इजरायली सेनाले आफ्नो स्थल कारबाहीमा दक्षिणी लेबनानमा ४ सय ४० जना हिज्बुल्लाह लडाकुको ज्यान गएको बताएको थियो।
संयुक्त राष्ट्रसङ्घका अनुसार हालैका हप्तामा झन्डै २ लाख मानिसहरू लेबनानबाट भागेर सिरिया पुगेका छन्।
यसैबीच एउटा विज्ञप्तिमा लेबनानका प्रधानमन्त्री नाजिब मिकाटीले आफ्नो सरकारले फ्रान्स र अमेरिकाले युरोपेली सङ्घ र अरब देशहरूको समर्थनमा घोषणा गरेको ‘युद्धविरामको आह्वानलाई’ समर्थन गर्ने बताउनुभएको छ।
उहाँले लेबनानले युद्धविरामलाई समर्थन गर्न र लेबनान युद्ध अन्त्य गर्नेसम्बन्धी राष्ट्रसङ्घको प्रस्ताव १७०१ को कार्यान्वयनका लागि इजरेलमाथि दबाब दिइनुपर्ने बताउनुभयो।
लेबनानमाथि हालै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले व्यक्त गरेको समर्थनको पनि उहाँले स्वागत गर्नुभएको थियो।
शनिवार माक्रोँले इजरायलमाथि अस्त्र आपूर्ति रोक्ने पक्षमा धारणा राखेपछि तत्कालै इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उहाँको आलोचना गर्नुभएको थियो।