Prakash Adhikari October 8, 2024

सिन्धुपाल्चोक (मेलम्ची), २२ असोज : आज बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानी मन्त्री प्रदीप यादवबीच सोमबार भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गर्नुभएको भएको हो । दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौँमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौँ आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

निर्देशक लामिछानेले भन्नुभयो, “मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा सङ्घर्ष समितिसँग सहमति भएको छ । मेलम्चीबाट मंगलवारदेखि सुन्दरीजलमा पानी पथान्तरण गरिनेछ ।” उहाँका अनुसार सहमतिअनुसार आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्नेगरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्नेछ ।

कार्यकारी निर्देशक लामिछानेका अनुसार आजैका मितिदेखि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडाँै उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको छ ।

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी

खानेपानी मन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा सोमवार आयोजित पत्रकारभेटघाटमा उहाँले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई दसैँभन्दा अगाडि नै खानेपानी खुवाउने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो ।

“काठमाडौँवासी पानीका लागि निकै तड्पिएका छन्, मेलम्चीका नागरिकसँग आग्रह गरेर दसैँ अगाडि काठमाडौँवासीका घरमा पानी पुर्‍याउँछौँ”, मन्त्री यादवले भन्नुभयो, “ विपद्को समयमा सबै नागरिकले एकजुट भएर आफूसँग भएको चिज प्रदान गर्नु नै धर्म हो ।”

काठमाडौँमा मेलम्चीको पानी ल्याउन र मेलम्ची खानेपानीको अवरोध खुलाउनका लागि आफू मेलम्चीबासीका घरमै पुगेर अनुरोधसमेत गर्ने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीबासीका समस्या के हुन्, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मसहित सिङ्गो मन्त्रालय तयार छ । मेलम्ची खानेपानीको अवरोध खुलाउन र काठमाडौँका पानी ल्याउन म उहाँहरूको घरैमा पुग्छु ।”

यसैगरी मन्त्री यादवले मेलम्चीका पीडित नागरिकका जायज मागलाई सम्बोधन गराउन आफू हरतरह लागि परेकाले मेलम्चीवासीको मागको सहमति नजिक पुगेको जानकारी दिनुभयो । बाढीपहिरोका कारण पछिल्लो समय मुलुकमा असहज परिस्थिति रहेको भन्दै उहाँले परिस्थिति बुझ्न र काठमाडौँमा पानी पठाउन मेलम्चीवासीसँग आग्रह गर्नुभयो ।

मेलम्चीका स्थानीयवासीले राखेका जायज मागलाई सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने मन्त्री यादवले जानकारी दिनुभयो । सोही क्रममा मन्त्री यादवले केही दिन पहिले आफू दक्षिणकालीका नागरिकका घरैमा पुगेर विन्ती बिसाएपछि ललितपुरमा खानेपानी सहजरूपमा ल्याउन सफल भएको दाबी गर्नुभयो ।

मेलम्चीका स्थानीयवासीले विपद्को यस घडीमा काठमडौँमा पानी पठाउने विषयमा अवस्य साथ दिने आशा रहेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले विपद्को घडि छ । यो समय आन्दोलन गर्ने बेला होइन, अहिले भनेको एक अर्कालाई सहयोग गर्ने समय भएकाले मेलम्चीवासीले पानी पठाउन अवस्य सहयोग गर्नुहुन्छ ।”

हालैको अविरल वर्षाका कारण गएको बाढीपहिरोले देशका २१ जिल्लामा ठूलो क्षति पुर्‍याएको र खानेपानीमा मात्रै करिव साढे रु तीन अर्बको क्षति पुर्‍याएको मन्त्री यादवको भनाइ छ । बाढीकै कारण काठमाडौँका महाङ्काल मैदानमा भएका मेसिनरी वस्तुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्पलगायत मेसिनरी सबै सामान ध्वस्त भएकाले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।

Share Now