काठमाडौं, २३ असोज । राष्ट्रिय ध्वजाबाहक विमानको परिचालन गर्ने पूर्ण सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले बडा दशैंको अवधिमा पनि आफ्ना कर्मचारीहरुलाई सञ्चार सम्पर्कमा नै रहन सूचित गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको निर्देशन अनुसार उहाँको सचिवालयले हवाई सेवा अत्यावश्यक सेवामा पर्ने भएको जनाउदै दशैंको अवधिमा निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरुको नियमित उडानलाई समयबद्ध, भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउदै निगमको ख्याति अभिवृद्धि गर्न चाहिएको बखत सेवामा उपलब्ध हुनका लागि सञ्चार सम्पर्कमा रहन सूचित गरेको हो ।
निगमका सम्पूर्ण निर्देशक र विभागीय प्रमुखहरुलाई सम्बोधन गरी पठाइएको पत्रमा अधिकृत स्तरदेखि माथि र आवश्यक सेवाका कर्मचारीहरुलाई जतिखेर पनि सेवामा बोलाउन सकिने भएकोले सञ्चार सम्पर्कमा रहन आदेश दिइएको छ ।
नागरिक उड्डयन सेवा अत्यावश्यक सेवा अन्तरगत पर्दछ । अत्यावश्यक सेवामा सूचीकृत सेवा अवरुद्ध हुने गरी विरोध र हडताल गर्न पाइन्न । केही दिन पहिले विमान परिचारिकाहरुको विरोधको कारण अन्तर्राष्ट्रिय उडानसमेत स्थगित हुँदा निगमले घाटा ब्यहोर्नुका साथै निगमको अन्तर्राष्ट्रिय सेवाको विश्वसनीयता, समयबद्धता र साखःमा समेत असर परेको थियो । सेवा अवधिमा बिमान परिचारिकाहरुको उमेर हद बढाउने माग राख्दै भएको सो हड्ताल नियमावलीमा संशोधन गरेर हाल व्यवस्था भएको ४५ बर्षको उमेर हदलाई ५० बर्ष पुर्याउने सहमति भएपछि टुंगिएको थियो ।


















