Prakash Adhikari October 9, 2024

फणीन्द्र दाहाल / बीबीसी न्यूज नेपाली

काठमाडौं, २३ असोज । नेपालका निमा रिन्जी शेर्पाले पर्वतारोहणको क्षेत्रमा एउटा दुर्लभ कीर्तिमान बनाएका छन्। विश्वका ८,००० मिटरभन्दा अग्ला सबै हिमाल चढिसक्दा उनको उमेर १८ वर्ष पाँच महिना मात्र भएको छ।

बुधवार बिहान ८,०२७ मिटर अग्लो शिशापाङ्मा हिमालको चुचुरोमा पुगेर उनी सबैभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गर्ने कान्छा पर्वतारोही बन्न सफल भए। उनी बिहान तिब्बतको स्थानीय समयानुसार ६ः०५ बजे चौधौँ अग्लो हिमालको चुचुरोमा पुगेका हुन्।

उनको जन्म सङ्खुवासभाको मकालु क्षेत्रमा पर्ने शेर्पागाउँमा भएको थियो। तर उनको अधिकांश बाल्यकाल काठमाण्डूमा बित्यो।

उनको दिनचर्यामा विकट हिमाली भेगको उकालीओराली थिएन। उनी सुविधासम्पन्न विद्यालय गए र आमाबुवाको मायाले उनले कहिल्यै केही कुराको अभाव महसुस गर्नुपरेन।

“म आफैँ पनि हिमालतर्फ आकर्षित भएँ। मानसिक हिसाबले बलियो भएका कारणले बाबाले पनि पूर्ण समर्थन गर्नुभयो। मेरो स्वयंको चेतनाबाट निर्णय लिएको हुँ। बच्चैदेखि मैले मेरो बलियो पक्ष थाहा पाइसकेको थिएँ,” केही समयअघि बीबीसी न्यूज नेपालीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए।

चुचुरोमा पुगेको पाँच मिनेटपछि नै उनले काठमाण्डूमा रहेका आफ्ना बुवासँग स्याटलाइट फोनबाट कुरा गरेका थिए।

छोरासँग भएको कुराकानी उद्धृत गर्दै निमाका बुवा टासी लाक्पा शेर्पाले बीबीसीसँग भने, “उसले मलाई ‘ड्याड, म चिनियाँ समय ६ बजेर ५ मिनेटमा चुचुरोमा पुगेँ’ भन्यो। ‘मेरो सहकर्मी पासाङ नोर्बु र म पुग्यौँ’ भन्यो। निकै तालिम पाएको र व्यावसायिक भएकाले ऊ खासै रोमाञ्चित पनि हुँदैन, सामान्य नै थियो।”

“मैलै ‘मलाई तिमीमा विश्वास थियो, सुरक्षित फर्किनू’ भनेँ।”

टासी लाक्पा शेर्पा ‘फोर्टीन पीक्स एक्पिडिशन’का प्रमुख कार्यकारी पनि हुन्।

चीनबाट आरोहण गर्नका लागि अनुमति प्राप्त होला कि नहोला भन्ने लागेको भए पनि सबै बन्दोबस्ती सोचे जस्तै हुँदा निमा रिन्जीले सफलतापूर्वक आरोहण सम्पन्न गर्न सकेको उनले बताए।

उनले आफ्नो छोराले राखेको कीर्तिमान असाधारण भएको भन्दै विश्व पर्वतारोहण जगत् र नेपाल दुवै यसबाट गौरवान्वित हुने उल्लेख गरे।

“पर्वतारोहण जगत् र युवा पुस्ताका लागि एउटा प्रेरणादायी कथा लेखियो जस्तो मलाई लाग्छ।”

निमा रिन्जी शेर्पाले ८,००० मिटरभन्दा अग्लो चौधौँ हिमालको आरोहण पनि युवापुस्तालाई समर्पित गरेका छन्।

आफ्नो आरोहण सम्पन्न भएको उल्लेख गर्दै फेसबुक राखिएको पोस्टमा उनले ‘शेर्पा पावर’ नामक आफ्नो परियोजनालाई यो सफलता समर्पण गरेको जनाएका छन्। “यो मेरो व्यक्तिगत यात्राको परिणाम मात्र होइन, हाम्रो लागि परम्परागत सीमाहरूभन्दा टाढा सपना देख्ने आँट गर्ने प्रत्येक व्यक्तिप्रतिको सम्मान हो।”

उनले आफूले शेर्पा युवापुस्तालाई आफ्नो शेर्पाहरू “अरू पर्वतारोहीहरूका सहयोगी मात्र नभई उच्चस्तरीय एथ्लिट, साहसी र सिर्जनशील समुदाय” रहेको सन्देश दिन चाहेको बताए। उनले प्रत्येक शेर्पाको कामलाई सम्मान गरिनुपर्ने र उनीहरूले नै हिमाललाई परिभाषित गर्ने भएकाले हिमालको संरक्षण र संवर्धनमा उनीहरूको भूमिका रहनुपर्ने औँल्याए।

उनले सन् २०२२ को सेप्टेम्बरमा ८,१६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण गरेर विश्वकीर्तिमान बनाउने आफ्नो यात्रा थालेका थिए। त्यो पूरा हुने दुई वर्ष १० दिन लाग्यो।

सन् २०२३ मा संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका उनी त्यो वर्ष ८,००० मिटरभन्दा अग्ला नौ हिमाल चढे। यो वर्ष चाहिँ उनी पाकिस्तानमा अवस्थित ‘माउन्ट केटू’सहित तिब्बतमा रहेको शिशापाङ्मा हिमाल चढेका हुन्।

उनले आफ्नो आरोहणले विश्वलाई “व्यक्तिगत उपलब्धि” भन्दा पनि एकता र सामूहिकताको सन्देश दिने विश्वास व्यक्त गरेका छन्। सीमा, युद्ध, जातीय विभाजन र द्वन्द्वको विभाजन आफूले देखेको भन्दै उनले स्नेह, सम्मान र सहिष्णुतामा जोड दिएका छन्।

नेपालको पर्यटन विभागअन्तर्गत रहेको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बीबीसीसँग कुरा गर्दै निमा रिन्जी शेर्पाले कीर्तिमान बनाएको पुष्टि गरे।

“आज बिहान चुचुरोमा पुगेको पुष्टि भएको छ। अब आधार शिविरमा फर्किएपछि प्रमाणपत्र दिने कुरा रहेको बुझेको छु।” निमा रिन्जी शेर्पाको सफलतामा प्रसन्नता व्यक्त गर्दै उनले भने, “यो कीर्तिमान अब भङ्ग हुन गाह्रो छ।”

उनले नेपाल सरकारले निमा रिन्जी शेर्पालाई सम्मान गर्नेबारे पनि कुरा भइरहेको जानकारी पनि दिए।

आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढ्ने मानिसको सङ्ख्या निकै कम छ। जोखिमपूर्ण र साहसिक गतिविधि मानिने हिमाल आरोहणका क्रममा शारीरिक र मानसिक शक्तिको परीक्षण हुने गर्छ।

बीबीसीलाई दिएको अन्तर्वार्तामा निमा रिन्जीले अप्ठेरो समयमा आफू शेर्पा भएको सम्झँदा हिम्मत आउने बताएका थिए।

Share Now