Prakash Adhikari October 14, 2024

जुम्ला, २८ असोज : यस वर्षको दसैँमा यहाँ रु १६ करोड मूल्य बढीको भेडा र खसीको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारमा मात्रै रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरको भेडा र खसी किनबेच भएको चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख बीरबहादुर रावलले जानकारी दिनुभयो ।

यहाँका भेडापालक किसान र अन्य जिल्लाबाट ल्याइएका गरी सात हजार नौ सय २८ भेडा र खसी किनबेच भएका हुन् । चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख रावलले भन्नुभयो , “रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजारका खसी र रु ३१ लाख १६ हजारका राँगा भैसी खरिद बिक्री भएका छन् ।” स्थानीय भेडाको अधिकतम मूल्य रु २८ हजार, न्युनतम रु १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधितम मूल्य रु २४ हजार र न्यूनतम मूल्य रु आठ हजार भएकामा औसत मूल्य रु १६ हजार निर्धारण गरिएको थियो । अधिकतम् मुल्य रु ५० हजार र न्युनतम मुल्य रु २६ हजारमा किनबेच भइरहेका राँगाभैँसीको औसत मुल्य रु ३८ हजार निर्धारण गरी कारोबार मूल्याङ्कन गरिएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ ।

विसं २०६८ देखि तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा र खसी मात्रै बिक्रीवितरण हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । स्थानीय तहको केन्द्रहरुमा पनि भेडा र खसीको कारोबार हुने गरेको छ । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड र बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका बजारमा समेत भेडा र खसीको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

Share Now