Prakash Adhikari October 15, 2024

काठमाडौं, २९ असोज । आउदो कार्तिक १ गतेदेखि काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा गरेको छ ।

महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमवार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हुन् ।

मुख्य प्रशिक्षक तामाङले व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेललाई पनि टोलीमा समेटेका छन् ।

साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । महिला साफ च्याम्पियनसिप नेपालमा लगातार तेस्रो पटक पटक हुन लागेको हो । नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा साफको आयोजना गरेको थियो ।

सन् २०१० बाट सुरु भएको दक्षिण एसियाली राष्ट्रहरू मध्ये अफगानिस्तान बाहेक ७ टोलीको सहभागिता रहने साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन ।

यसअघिका ६ मध्ये ५ पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो । २०१६ को चौथो संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो । दुई वर्षअघि नेपालमै भएको पछिल्लो संस्करणमा नेपाल बंगलादेशसँग ३(१ ले पराजित भएको थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ ।

उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् । समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन् ।

एन्जिला तुम्बापो सुब्बाको कप्तान रहने नेपाली महिला फुटबल टोलीमा अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी र सजनी थोकर रहेका छन् ।

Share Now