Prakash Adhikari October 15, 2024

काठमाडौं, २९ असोज । दशैँपछिको पहिलो कारोबार दिन आज नेप्से परिसूचक बढेर बन्द भएको छ।

मंगलबार धितोपत्र बजार परिसूचक ३१.४८ अंक बढेर २६९९.६६ विन्दुमा पुगेको छ।

धितोपत्र बजार परिसूचक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन दशैं अगाडि ३ अर्ब ७६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३ सय ७ स्टकको ६४ लाख १७ हजार २ सय ६७ कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मल्टीपर्पस फाइनान्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।

यस दिन मिड सोलु हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ १० पैसा घटेर १ हजार २६ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै युनाइटेड मोदी हाइड्रोपावर, युनिलिभर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि शेयर मूल्य अधिक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १८ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ११ करोडको शेयर किनबेच भएको छ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकृत भएका १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकासबैंक, लगानी, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन ०.२२ प्रतिशत घटेको छ।

Share Now