Prakash Adhikari October 15, 2024

मुम्बई(भारत),२९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसमशेर राणा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत आफू पूर्ण स्वस्थ्य हुँदै गइरहेको र केही दिनमा नै स्वदेश फर्कने उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो स्टाटसमा लेख्नुभएको छ,”भगवानको आशिर्वाद र तपाईंहरु सबैको प्रार्थनाले म अहिले पूर्ण रूपमा स्वस्थ्य हुँदैछु । आज अस्पतालबाट डिस्चार्ज भएको छु । अस्वस्थ्य भई अस्पतालमा उपचाररत भएको बेलामा देश(विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरुबाट स्वास्थ्यलाभको शुभकामना प्राप्त भएको छ । तपाइँहरुको असीम माया,प्रेम र स्नेहको लागि हृदयदेखि सम्पूर्णमा आभारसहित धन्यवाद व्यक्त गर्द्छु । म स्वास्थ्यलाभ गरी केहि दिनमै नेपाल फर्कने जानकारी सम्पूर्ण शुभचिन्तकहरुमा गराउन चाहन्छु ।”

उहाँले आफूलाई लागेको रोगको उपचारपछि पार्टीको काममा झन समर्पित भएर देश र जनताको सेवा गर्ने इच्छा जागृत भएको बताउनुभएको छ । पार्टीले आफूलाई सुम्पेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “जटिल रोगको उपचारबाट स्वस्थ्य भई पार्टीका एजेन्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ ।देश,जनता र पार्टीका एजेन्डाप्रति बफादार रहि जीवनभर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। तपाईँहरुको माया, प्रेम,स्नेह र शुभेच्छा सधैं मिलोस् भन्ने कामना गर्दछु ।”

अध्यक्ष लिड.देनको अमानवीय कदमको पार्टीभित्रै विरोध

शरीरमा असाध्य रोगको लक्षण देखापरेपछि महामन्त्री राणा उपचारको निमित्त भारत प्रस्थान गर्नुभएको थियो । उहाँ रोगको निदान र उपचारमा संलग्न रहनुभएकै बेला यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेलले भने उहाँले हेरिरहनुभएको संगठन विभागको काम उहाँको जिम्मेवारीबाट हटाइदिनुभयो ।

अध्यक्ष लिड.देनको यो अमानवीय कार्यको पार्टीका शीर्ष नेता डा.प्रकाशचन्द्र लोहनीले सामाजिक सञ्जालबाटै विरोध जनाउनुभएको छ । उहाँले लेख्नुभएको छ, “राप्रपाका सांसद तथा पार्टीका महामन्त्री धवलसमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई संगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति व्यक्त गर्दछु ।”

अध्यक्ष लिड.देनको यस कदमको पार्टीका शीर्ष नेताहरु पशुपतिशमशेर राणा,लोकेन्द्रबहादुर चन्द र वरिष्ठ नेताहरु रविन्द्र मिश्र,ऋषि देवकोटा, विक्रम पाण्डे लगायतले विरोध गर्नुभएको छ ।

पार्टीको गत अधिवेशनमा महामन्त्री डाक्टर राणाकै सहयोगमा लिङ्गदेल अध्यक्ष हुनुभएको थियो । पार्टीको संगठनमा राणाले ल्याउनु भएको ऊर्जा, सरकारका विरुद्ध भएका आन्दोलनमा गर्नुभएको जनपरिचालन आदि कार्यले लिङ्गदेलले उहाँलाई आगामी सम्मेलनमा आफ्नै प्रतिस्पर्धीको रुपमा देख्न थाल्नुभएको छ ।

सत्तारुढ दलहरुले संविधान संशोधनको एजेण्डा अगाडि सारेको मौकामा यस व्यवस्थाप्रतिको वितृष्णालाई क्यास गरेर राजतन्त्र समेत स्थापना गराउन सकिने संभावना देखेर पार्टीलाई सत्ता साझेदारीको हैन आन्दोलनको मार्गमा लगिरहनुभएका राणासंग अध्यक्ष अहिल्यैदेखि तर्सेको प्रतित हुन्छ । सामान्यतः पार्टीमा संगठन जसले गर्दछ, पार्टीभित्र उही लोकप्रिय हुन्छ । राणालाई संगठन विभाग सुम्पदा आगामी चुनावमा अध्यक्षमा राणा उठेमा आफू पराजित हुने भयले अध्यक्ष लिड.देनले यस्तो अमानवीय काम गर्नुभएको बताइन्छ ।

राजतन्त्र पुनस्थापनाको एजेण्डा छोडेर पार्टीभित्र खुट्टा तानेर आफू नेतृत्वमा बसिरहने संकेत देखाएपछि पूर्वराजा ज्ञानेन्द्र शाह समेत लिङ्गदेलको कार्यशैलीप्रति सन्तुष्ट नरहेको राष्ट्रिय प्रजात्न्त्र पार्टीका कार्यकर्ताहरु बताउछन् ।

Share Now