काठमाडौं, ११ कार्तिक । युएईमा आयोजना हुने महिला यु १९ टी २० विश्वकप क्रिकेटको एसिया छनोटको लागि चयन भएको नेपाली युवा टोलीलाई नेपाल क्रिकेट संघले बिदाइ गरेको छ ।शनिवार गरिएको बिदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय झण्डा प्रदान गर्नुभएको थियो । बिदाई कार्यक्रममा क्यानका पदाधिकारी,खेलाडी र कर्मचारीहरुको पनि सहभागिता रहेको थियो
नेपाली टोलीले युएई जानु अगाडि भारतमा बन्द शिविरमा अभ्यास गर्ने छ ।
एशिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको चयन गरेको छ ।
छनोट प्रतियोगिता कात्तिक १९ देखि कात्तिक २९ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहनेछ ।
नेपालले पहिलो खेल कात्तिक २१ गते थाइल्यान्डसॅंग र दोस्रो खेल कात्तिक २२ गते कुवेतसॅंग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
नेपाली टोलीमा सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी र रचना चौधरी रहेका छन् ।