Prakash Adhikari November 6, 2024

 

फ्लोरिडा(संयुक्त राज्य अमेरिका), २१ कार्तिक(बीबीसी) । संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको लागि ५ नोभेम्बरमा भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजय हुने निश्चित भएको छ । केही राज्यहरुको निर्वाचन परिणाम घोषणा हुनुपूर्व नै उहाँले विजयका लागि आवश्यक २ सय ७० इलेक्टोरल कलेज मतका नजिक आफूलाई पुर्याउनु भएको छ । उहाँले हाल २ सय ६६ इलेक्टोरल मत पाउनुभएको छ भने उहाँकी प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीकी उम्मेद्वार कमला ह्यारिसले १ सय ९४ ।

आफूले बहुमतले जित्ने पक्कापक्की भएपछि फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताउनुभएको छ।

“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उहाँले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भन्नुभयो।

उहाँले अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट)अघि बढाउने बताउनुभयो।

उहाँले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यहरूलाई धन्यवाद दिनुभएको छ।

उहाँले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गर्नुभएको छ।

मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।

कुल लोकप्रिय मतमा पनि ट्रम्प नै अगाडि

ताजा आँकडाअनुसार डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल कलेज मत मात्र नभई कुल मत वा कुल लोकप्रिय मतमा पनि जित्ने प्रक्षेपण गरिएका छन्।

सन् २०१६ मा उहाँले पहिलोपल्ट राष्ट्रपति निर्वाचन जित्दा लोकप्रिय मतमा भने हिलरी क्लिन्टन अगाडि हुनुहुन्थ्यो।

पछिल्लो आँकडामा ट्रम्पले ६ करोड ९० लाखभन्दा धेरै मत पाउनुभएको छ भने कमला ह्यारिसले ६ करोड ३७ लाखभन्दा धेरै मत । मतगणना अझै जारी छ।

बीबीसीको पछिल्लो प्रक्षेपणमा ट्रम्पले २ सय ६६ इलेक्टोरल कलेज जित्ने देखिएका छन् भने कमला ह्यारिसले २ सय १९ जित्ने देखिएका छन्। कतिपय राज्यको मतपरिणामका प्रक्षेपण अझै भइसकेका छैनन्।

ह्वाइट हाउसमा फर्किएपछि ट्रम्पले इतिहासमै सबभन्दा धेरै आप्रवासीलाई देशनिकाला गर्ने, वैदेशिक व्यापारमा थप शुल्कहरू लगाउने अनि युक्रेन र मध्यपूर्वका युद्ध अन्त्य गर्ने वाचा गर्नुभएको छ।

Share Now