काठमाडौँ, २७ कात्तिकः युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले कुवेतसामु २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा टस जितेर पहिले ब्याटिड. रोजेको नेपालले २ विकेटको क्षतिमा २ सय १३ रन जोडेको थियो ।
नेपालका लागि कप्तान पूजा महतोले पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १ सय ३० रन बनाइन् । पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरिन् ।
खेलमा उपकप्तान सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन जोडिन् ।
नेपाललाई रोक्ने क्रममा कुवेतकी जिफा जिलानी र मारिना डि सोजाले समान १ / १ विकेट लिए ।
गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाचौँ खेल हो ।
नेपालले यसअघि तीन खेलमा जित हासिल गरेको छ, भने एक खेलमा पराजित भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । चौथो खेलमा आइतबार थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ ।