Prakash Adhikari November 12, 2024

काठमाडौं, २७ कार्तिक । युएईमा जारी महिला यु १९ टी ट्वान्टी विश्वकप एसिया छनोट खेलमा नेपालकी कप्तान पूजा महतो चम्किएपछि नेपालले शानदार जित हासिल गरेको छ ।

नेपालका लागि कप्तान पूजा महतोल कीर्तिमानी शतक बनाउनुको साथै तथा महत्वपूर्ण ५ विकेट पनि लिएकी थिइन् ।

खेलमा नेपालले कुवेतलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा अल आउट हुदै ४८ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि कप्तान जिफा जिलानीले ४२ बलमा ३६ रन बनाइन भने अरु खेलाडीहरुले दोहारो अंकमा रन बनाउन सकेनन् । कुवेतका आठ खेलाडीले रनको खाता खोल्न सकेनन् ।

नेपालका लागि कप्तान पूजाले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् । रचना चौधरी र सिमाना केसीको नाममा समान दुई दुई विकेट लिए ।

त्यसअघि युएईको अजमानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको विशाल योगफल तयार गरेको थियो।

प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १ सय ३० रन बनाइन् । प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो ।

यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतवार युएईकी लाभन्या केन्याले कुवेतविरुद्ध ९९ रन बनाएकी थिईन् । पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरिन् ।

पूजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो । गत फेब्रवरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिईन् । यू १९ महिला क्रिकेटमा भने यो नै पहिलो शतक हो ।

पूजाले नेपाली महिला क्रिकेटको एकै खेलमा बनेको सर्वाधिक रन समेत हो । रुबिनाले सोहि खेलमा ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।

आजको खेलमा उपकप्तान सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन जोडिन् ।

नेपाललाई रोक्ने क्रममा कुवेतकी कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ । १ विकेट लिए ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

Share Now