काठमाडौं, ८ मंसिर । मनकामना केवुलकार २६ बर्ष पार गरी २७ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले माता मनकामनाको असिम अनुकम्पा र आर्शिवादलका साथै यात्रुजनहरूको स्नेहले यात्रु र मनकामना माईका दर्शनार्थीको अटुट माया पाएको जनाएको छ ।
कम्पनीले २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा केवुलकारका संस्थापक उद्यमी तथा परिकल्पनाकार स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मरण गर्र्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।
कम्पनीले केवुलकारले नेपालको प्रसिद्ध तीर्थस्थल मनकामनाको ख्याति अन्तर्राष्ट्रिय स्तरमा पुगेको र विश्व पर्यटन बजारको एक गन्तव्यको रुपमा स्थापित भैसकेको जनाउँदै यस अवधिमा केबुलकारलाई एनालगप्रविधिबाट डिजिटल प्रविधिमा स्तरोन्नति गरिएको पनि जनाएको छ ।
मनकामना दर्शन प्रा.लि.ले मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको पनि जानकारी दिएको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुने बताइएको छ । कम्पनीले भनेको छ , ‘रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने हाम्रो लक्ष्य रहने छ ।’
संचालनमा आएपछिका शुरूवाती वर्षमा बार्षिक १० लाख यात्रुहरूलाई सेवा दिएको यो मनकामना केवुलकारले हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएका छ । कम्पनीले यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको छ ।
कम्पनीले संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि उहाँको नीति अनुसार शुरूदेखि नै सामाजिक व्यवसायिक उत्तरदायी (सीएसआर)नीति अंगाल्दै आएको जानकारी दिएको छ । यस अन्तर्गत कम्पनीले मनकामना र आसपासका क्षेत्रमा पूर्वाधार र सामाजिक विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गको उत्थानका कार्यक्रममा आर्थिक सहयोग गर्दै आएको छ ।
बिनाशकारी गोरखा भुकम्पमा समेत यस संस्थाले सहयोग गरेको छ । सीएसआर नीति अनुसार नै कम्पनीले केवुलकार टिकट आम्दानीको कुल रकमको १ प्रतिशत÷१ प्रतिशत का दरले कुल २ प्रतिशत रकम शहिद गोरखा र चितवनका लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दैआएको छ ।
कम्पनीले सम्पुर्ण यात्रुजनहरू, शहिद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिकाका सहयोगी , स्थानीय प्रशासन, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकाय र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा कृतज्ञता एवं आभार पनि प्रकट गरेको छ ।
कम्पनीले सबै तहका कर्मठ कर्मचारी लगनशिलता तथा योगदानको सरहना गर्दै सबैमा धन्यवाद ज्ञापन गरेको छ भने सञ्चारकर्मीहरुप्रति पनि धन्यवाद एवं आभार प्रकट गरेको छ ।