Prakash Adhikari November 24, 2024

काठमाडौं, ९ मंसिर। नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि संक्षिप्त सूचीमा रहेका पाँच जनामध्ये थप दुईजना उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति सकिएको छ ।

आइतबार संक्षिप्त सूचीमा रहेका मध्ये धितोपत्र बोर्डकै कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको हो । संक्षिप्त सूचीमा पर्नुभएका अर्का उम्मेदवार तात्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित रहनु भयो।

पाँच जनाको संक्षिप्त सूचीमा पर्नुभएका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यस अगाडिको सरकारकै पालामा अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । तर तात्कालीन अर्थमन्त्री बर्षामान पुनले आफू निकटका मान्छे ल्याउन नसक्ने भएपछि यो प्रक्रिया विवादमा पार्न अर्थमन्त्रालय अन्तरगतकै नेपाल स्टक एक्सचेञ्जमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत कृष्णबहादुर कार्की र नेपाल धितोपत्र बोर्डमा कार्यरत डा. नवराज अधिकारीलाई अनुपस्थित हुन निर्देशन दिनुभयो । पूर्व अर्थमन्त्री जनार्दन शर्मासंग निकट मानिनुहुने माओवादीप्रति सद्भाव राख्नुहुने चिरञ्जीवि चापागार्इँ पनि अनुपस्थित रहेर यो प्रकृया रद्द गर्ने पृष्ठमूभि बनाउन भूमिका खेल्नुभएको थियो । तीन पटक निर्धारित अन्तरवार्ता र कार्ययोजना प्रस्तुतिको कार्यक्रम तीन जना अनुपस्थित बनेर अप्ठ्यारोमा पारेपछि छनोट समितिका तात्कालीन संयोजक योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले नयाँ प्रक्रियामा जाने सुझावसहित राजिनामा दिनुभएको थियो ।

सरकार निर्णयहिन बनिरहेको बेला यो प्रक्रियामा सहभागी सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रीट हालेर यो प्रकृयालाई टुंगोमा पुर्याउन माग गर्नुभयो र अदालतले अर्को प्रक्रिया नथाल्न सरकारका नाममा अल्पकालीन आदेश दियो । यसरी बोर्डका अध्यक्ष छान्ने प्रक्रिया मन्त्रालय र अदालतको खिचातानीमा जेलिएको अवस्थामा माओवादी र एमालेसहितको गठबन्धनको सरकार फेरियो र अर्थ नयाँ सरकार आएपछि अर्थमन्त्रालय हाँक्ने जिम्मेवारी पाउनुभयो,विष्णु पौडेलले ।

नेपालको पूँजीबजार सञ्चालन र नियमनको जिम्मेवारी पाएको धितोपत्र बोर्ड नेतृत्वबिहिन भएर स्वदेश र विदेशमा पनि नेपालको आर्थिक क्षेत्रको नकारात्मक सन्देश जाने अवस्था आएपछि अर्थमन्त्री पौडेलले यसको निकासका लागि महान्यायाधिवक्ताको राय लिनुभयो । महान्यायाधिवक्ताले चालु प्रक्रियालाई टुंगोमा पुर्याउन मिल्ने राय दिएकोले अन्तर्वार्ता र प्रस्तुतीकरणको नयाँ तालिका बनेको हो । योजना आयोगमा डा. शिवराज अधिकारी उपाध्यक्षमा नियुक्ति भएसंगै यो छनोट समिति सक्रिय बनेर यसले १८ असोजका दिन बाँकी उम्मेद्वारहरुलाई अन्तरवार्ता र प्रस्तुतीकरणको लागि बोलाएको थियो । तर उपाध्यक्ष डा. अधिकारीलाई डेंगू भएकोले सो दिन रोकिन गयो । छनौट समितिले फेरि आजको मिति तय गरी बाँकी रहेका तीनै उम्मेद्वारलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको निमित्त निमन्त्रणा गरेको थियो । आज दुई जनाको अन्तर्वाता र प्रस्तुतीकरण सम्पन्न भएको छ ।््

योसँगै अब अध्यक्ष सिफारिस समितिलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नका लागि बाटो खुला भएको छ ।

अब सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा बोर्ड अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्त गर्नेछ ।

धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । ऐनअनुसार सर्टलिस्टमा परेका पाँचमध्ये कम्तिमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ ।

नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो ।

सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको छ ।

यद्यपि पुरानै प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्तिका लागि बाटो खुला रहेपछि सरकारले प्रक्रिया अघि बढाएको हो ।

Share Now