Prakash Adhikari November 27, 2024

 

काठमाडौं, १२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) संघारमा आइपुगेको छ । खेलमा सहभागी बन्न विदेशी खेलाडी आउने क्रम जारी रहेको छ । खेलको तयारी स्वरुप प्रतियोगिताका औपचारिक सुरुआत अगाडि गरिने अभ्यास खेल सुरु भएका छन् । हालसम्म दुई अभ्यास खेल भएका छन् । हिजो मंगलबार सम्पन्न अभ्यास खेलमा सुदुरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गरेको छ भने सोमबार सम्पन्न खेलमा कर्णाली याक्सले काठमाडौं राइनोजलाई ।

हिजो सम्पन्न अभ्यास खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोज्माथि ३८ रनको जित हात पारेको हो । सुदूरपश्चिमले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र जोड्यो ।

चितवनका लागि शरद भेषवाकरले १९ बलमा ३०, ओपनर दिपक बोहोराले १७ बलमा २०,कुशल मल्लले १२ तथा अर्का ओपनर हसन इसाखिलले १० रन जोडे ।
चितवन राइनोजलाई रोक्ने क्रममा सुदूरपश्चिमका लागि भोजराज भट्ट, इशान पान्डे र अभिनास बोहोराले समान २ ।२ तथा बसन्त खत्री र शुसिल रावलले समान १ ।१ विकेट लिए ।

त्यसअघि मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले २५ बलमा नट आउट रहदै ४८ तथा ओपनर इशान पान्डेले २३ बलमा २७ रन जोडेका थिए । अर्का ओपनर अमित श्रेष्ठले २१, बसन्त खत्रीले १५ तथा खडक बोहोरा र आरिफ शेखले समान १० रन बनाएका थिए ।

सुदूरपश्चिम रोयल्सलाई रोक्ने क्रममा चितवन राइनोज्का लागि कुशल मल्ल र दीपक बोहोराले समान २ ।२ तथा गौतम केसी र नरबहादुर सार्कीले समान १ । १ विकेट लिए ।

सुदूरपश्चिम र चितवनबीचको खेल भने मंसिर २३ गते आइतवार रहेको छ ।

कर्णाली याक्स्द्धारा काठमाडौं गोर्खा पराजित

यस्तै सोमबार कर्णाली याक्स् र काठमाडौं गुर्खाज्बीच भएको अभ्यास खेलमा कर्णालीले काठमाडौलाई पराजित गरको छ । अभ्यास खेलमा ओपनर देव खनालको अर्धशतकमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई ३४ रनले पराजित गरेको हो ।

सोमबार मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा कर्णालीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा अल आउट हुदै १ सय २४ रन मात्र बनाएको थियो ।

काठमाडौंका लागि साहब आलम र राजु रिजालले समान २४ ।२४ रन बनाउँदा ओपनर शंकर रानाले १९ रन जोडे । राशिद खानले १६ तथा प्रतिक श्रेष्ठले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका लागि गुलशन झा, मौषम ढकाल, विपिन शर्मा, दिपेन्द्र रावत र भुवन कार्कीले समान २ ।२ विकेट लिएका थिए।

त्यसअघि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

कर्णालीका लागि ओपनर देवले ४४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० तथा अर्का ओपनर रित गौतमले २१ बलमा २६ रन जोडेका थिए । अर्जुन घर्तीले २३ रन जोड्दा दीपक डुम्रे २२ रनमा नट आउट रहे ।

कर्णाली याक्स्लाई रोक्ने क्रममा काठमाडौंका लागि राशिद खान, कृष्ण कार्की, दिपेश कडेंल र भीम सार्कीले समान १ ।१ विकेट लिए ।

नेपालको प्रतिष्ठासंग जोडिएको पहिलो संस्करणको एनपीएल आगामी शनिवारबाट सुरु हुदैछ । काठमाडौं र कर्णालीबीचको खेल भने मंसिर १९ गते बुधबार रहेको छ

Share Now