Prakash Adhikari November 29, 2024

शारजहाँ(युएई), १४ मंसिर । युएईमा आजबाट सुरु भएको पुरुष यु १९ एसिया कपमा नेपालले श्रीलंकाबाट २ सय ३४ रनको मध्यम लक्ष्य पाएको छ ।

युएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय ३३ रनमा समेटियो ।

खेलमा श्रीलंकाका शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । उनी सन्तोष यादवको बलमा एलबिडब्लु आउट भए । श्रीलंकाले पहिलो विकेटका रुपमा पुलिन्दु परेरालाई २ रनमा गुमाएको थियो । परेरा हेमन्त धामीको बलमा सन्तोष यादवद्वारा समातिएका थिए ।

लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोड्दै सन्तोष यादवको बलमा आउट भए । कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए । दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४ रन जोडे । श्रीलंकाले एक समय ३ विकेट गुमाएर १ सय ६७ रन बनाएर बलियो योगफल बनाउँने संकेत दिएको थियो । तर, ६६ रन जोड्दा बाँकी ७ विकेट गुमाउँन पुग्यो ।

श्रीलंकालाई रोक्ने क्रममा नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । युवराज खत्रीले १० ओभरमा ४४ रन खर्चिएर २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले समान १ विकेट लिए ।

यु १९ एशिया कपका लागि नेपाल क्रिकेट संघ(क्यान)ले पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ ।

एसिया कपमा नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।

एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह बीमा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।

Share Now