काठमाडौँ, १५ मङ्सिरः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीको अन्त्येष्टि गरिएको छ ।
शुक्रबार राति हृदयघातका कारण निधन हुनुभएका स्व ज्ञवालीको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि गर्नुअघि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सङ्घको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको थियो ।
स्व ज्ञवालीलाई कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री एवम् पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री डा शशाङ्क कोइराला, नेता अर्जुननरसिंह केसी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।
दुई कार्यकाल सङ्घको नेतृत्व गर्नुभएका ज्ञवालीको ५९ वर्षको उमेरमा गएराति निधन भएको हो । गुल्मी स्थायी घर हुनुभएका ज्ञवालीले कास्कीमा शिक्षक रहँदा नै शिक्षक सङ्घमा आबद्ध भई विसं २०५३ देखि २०५७ सम्म जिल्ला अध्यक्ष हुनुभएको थियो । यस्तै, विसं २०५७ देखि २०६१ सम्म शिक्षक सङ्घको केन्द्रीय महासचिव र विसं २०६१ देखि २०६९ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष हुनुभएको थियो ।
उहाँ नेपाली कांग्रेस गुल्मीको महाधिवेशन प्रतिनिधिसमेत हुनुभएको थियो । पूर्वअध्यक्ष ज्ञवालीको निधनमा नेपाल शिक्षक सङ्घले गहिरो दुःख व्यक्त गरेको छ । सङ्घको आज बसेको आकस्मिक बैठकले ज्ञवालीको निधनले नेपालको शिक्षक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ ।
बैठकले सङ्घका सम्पूर्ण निकाय सङ्घ, प्रदेश र स्थानीय तहमा १० दिनसम्म कुनै पनि कार्यक्रम नगर्ने र तीन दिनसम्म सङ्घको झण्डा झुकाउने निर्णय गरेको केन्द्रीय अध्यक्ष सोमनाथ गिरिले जानकारी दिनुभयो ।
—