काठमाडौं, १७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ४२ रनको लक्ष्य दिएको छ ।
सोमवारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो ।
कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन जोडे । उनले उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्ती २३ बलमा ३३ बनाउँदै रन आउट भए ।
सातौं विकेटका लागि अर्जुन र सोमपाल कामीले ५६ रनको साझेदारी गरे । सोमपालले १३ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाउँदै नट आउट रहे ।
ओपनर शिखर धवनले १४ बलमा ३ चौकाको सहयोगमा १४ रन जोडे । धवन पाँचौ ओभरको दोस्रो बलमा हर्ष थाकरको बलमा बोल्ड आउट भए ।
कर्णालीको पहिलो विकेटका रुपमा देव खनाल आउट भएका थिए । देव दोस्रो ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीको बलमा बोल्ड आउट भए । देवले ५ बलमा १ रन मात्र जोडे ।
चाल्डिक वाल्टनले १२ बलमा १ चौकाको सहयोगमा ८ रन बनाए । वाल्टनलाई मोहम्मद मोहसिनले एलबिडब्लु धरापमा पारे ।
चौथो विकेटका रुपमा जिशान मक्सुद रनको खाता नखोल्दै जेम्स निशमको बलमा एलबिडब्लु धरापमा परे । बाबर हायतले २४ बलमा १२ रन बनाए । पाँचौ विकेटका रुपमा आउट भएका बाबर मोहम्मद मोहसिनको बलमा जिम्मि निशमबाट क्याच आउट भए ।
कर्णालीलाई रोक्ने क्रममा जनकपुरका लागि मोहम्मद मोहसिनले २ तथा किशोर महतो, हर्ष ठाकर, जिम्मी निशमले समान १ विकेट लिए ।
पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि अथक प्रयासमा छ । उता, भारतीय क्रिकेटका चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ।
जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपीएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।


















