कीर्तिपुर(काठमाडौं), २१ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)अन्तरगत आज बिहान भैरहेको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १ सय ३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रनको सामान्य योगफल तयार गर्यो । चितवन लागि बोपारले सर्वाधिक ५९ रन जोडे । उनले ४० बलमा ७ चौका र १ छक्काका प्रहार गरेका थिए । लिगमा लगातार दोस्रो अर्धशतक बोपाराले ३५ बलमा पूरा गरेका थिए ।
गत मंगलवार भएको पोखरा एभेन्जर्सविरुद्धको खेलमा पनि बोपाराले अर्धशतक बनाएका थिए । लिगमा लगातार अर्धशतक बनाउँने बोपारा पहिलो खेलाडी हुन् । खेलमा चितवनका कप्तान कुशल मल्लले २७ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । ठूलो सट खेल्ने प्रयासमा कुशल जिशान मक्सुदको बलमा बाउन्ड्रिमा गुलशन झाबाट समातिए ।
चितवनका लागि विपिन रावलले १५ बलमा ११ रन जोडे । विपिन जिशान मक्सुदको बलमा बोल्ड आउट भए । १७औं ओभरमा युवा बलर विपिन शर्माले २ विकेट लिएसँगै कर्णाली खेलमा हाबी भएको थियो ।
कर्णालीका लागि विपिन शर्माले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । जिशान मक्सुद र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचमा खेल हुदैछ ।