काठमाडौं, २४ मंसिर । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि लिग चरणका दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडीसीसँग खेल्दैछ। खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।
दाबेदार मानिएको क्यालिकट हिरोज पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा क्यालिकट नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३२ ले हारेको थियो। त्यसैले आज जित निकाल्ने दबाबमा भारतीय टोली रहनेछ।
तेस्रो खेल खेल्न लागेको क्लब एचडीसीले भने १ खेलमा जित र अर्कोमा हार बेहोरेको थियो। पहिलो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले हराउँदै विजयी सुरूवात गरेको एचडीसी दोस्रो खेलमा हिजो इरानको यु-१८ टोलीसँग ३-२ को सेटमा पराजित भएको थियो ।उसले दुई खेलबाट ३ अंक बनाएको छ।
आजै हुने दोस्रो खेलमा नेपालको गण्डकीले इरान यु-१८ को सामना गर्नेछ। इरानको टिम लगातार दोस्रो जित दर्ज गर्ने दाउमा हुनेछ। हिजो उसले पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई ३-२ को सेटमा हराएको थियो।
गण्डकीको टोली लगातार दुई खेलमा हार भोगिसकेको छ। पहिलो खेलमा क्लब एचडीसीसँग हारेको गण्डकी दोस्रो खेलमा हिजो हेल्प नेपालसँग ३-१ पराजित भएको थियो।
त्यसैले लिग चरणबाट सेमिफाइनलमा पुग्न सम्भावना जीवित राख्न पनि गण्डकीलाई तेस्रो खेलमा जित्नै पर्ने दबाब छ। यो खेल साँझ ५ बजे हुनेछ।
५ अंकसहित शीर्ष स्थानमा रहेको हेल्प नेपालको ५ अंक, इरानी टोली र एचडिसीको समान २ अंक छ।
च्याम्पियनसिपमा नेपाल सहित ४ राष्ट्रका ५ क्लबको सहभागिता छ। सिगंल राउन्ड रोबिन लिगमा १० खेल सहित च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन्।
तालिकाको शीर्ष ४ टोली सेमिफाइनल पुग्नेछन्। तालिकाको शीर्ष टोलीले तेस्रो तथा दोस्रोले चौथोसँग सेमिफाइनल खेल्नेछ।
फाइनल मंसिर २९ गते हुनेछ।