काठमाडौं, २६ मंसिर । स्वामी श्री रामसुखदासजी महाराजको श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी एवं श्रीमद्भागवतको जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी नेपाली अनुवादको विमोचन गरिएको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको मार्ग शुक्ल एकादशीका दिन गीता जयन्तीको पावन अवसरमा पशुपति क्षेत्रमा अवस्थित सुमार्गी भवनमा आयोजित एक भव्य कार्यक्रमका बिच उक्त पुस्तकको विमोचन भएको हो ।
गीताको १८ अध्यायको पाठ एवं त्यसलाई नेपाली भाषामा अनुवाद र व्याख्या गरी गीता प्रेसबाट सो पुस्तक प्रकाशित गरिएको हो ।
पुस्तक विमोचन समारोह स्वामी श्री रामसुखदासजी महाराजको सत्संगमा रहनुभएका वृन्दावन निवासी स्वामी श्री नवलरामजी महाराजको सान्निध्यमा एवं महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजकोप्रमुख आतिथि र पशुपतिनाथका मूल भट्ट श्री गणेश रावल भट्ट र डा. श्री गोविन्द टण्डनको
विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालको तत्वावधानमा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं र गीता परिवार नेपालको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रममा विभिन्न स्कुलका विद्यार्थीहरु र गीता साधकहरुको सहभागीतामा गीता माताको आराधना पनि गरिएको थियो ।
सो कार्यक्रम गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडाको सभापतित्वमा
भएको थियो । कार्यक्रमका सभापति शारडाले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दै गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराउनु भएको थियो ।
वहाँले स्वागतको क्रममा गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा
अनुवाद गराई प्रचार प्रसार र बिक्री वितरण गर्न कार्य भइरहेको र गीता प्रेस नेपालको स्थापनापछि
हालसम्म ५५ भन्दा बढ़ी पुस्तकहरु नेपाली भाषामा अनुवादित भएको र १८ पुराणलाई नेपाली
भाषामा प्रकाशित गराउने लक्ष्यसहित आजको दिनसम्म श्रीमद्भागवतमहापुराण, श्रीशिवमहापुरण,
श्री विष्णुपुराण, श्रीमद्देवीभागवतमहापुराण प्रकाशित भइसकेको र मत्स्यमहापुराण, लिङ्गपुराण, शुक
सुधा सागरको नेपाली संस्करण आउने जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा श्री पुशपतिनाथका मूलभट्ट गणेश रावलले आशिर्वाद प्रदान गर्नु भएको थियो ।
यसैगरी मानव सेवा आश्रमका संस्थापक डा. गोविन्द टण्डनले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा स्वामी श्री रामसुखदासजी महाराजको सत्संगमा रहनुभएका वृन्दावन निवासी स्वामी श्री नवलरामजी महाराज र प्रमुख अतिथि परमहंस परिव्राजकाचार्य श्रोत्रियब्रह्मनिष्ठ निरञ्जन पीठाधीश्वर अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजले शुभकामना एवं मार्गदर्शन दिनु भएको थियो।
कार्यक्रममा उपस्थित महानुभावहरुलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालको तर्फबाट कार्यक्रम संयोजक अनिल केडियाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन डा. वासुदेवकृष्ण शास्त्रीूले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मिकी संस्कृत विद्यपीठ, विद्याश्रम, विभिन्न समाजका पदाधिकारी, लव्ध प्रतिष्ठित महानुभावहरु, विद्वतवर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
करिब ५ हजार १ सय ३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान श्रीकृष्णले नै अर्जुनमार्फत् जगत्लाई गीताको ज्ञान दिनुभएको विश्वास गरिएको छ ।
कुरुक्षेत्रमा महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले दिनुभएको उपदेश नै गीता ग्रन्थ भएको विश्वास गरिन्छ ।