काठमाडौं, २६ मंसिर । नेपालको टिपटप हेल्प नेपाल र इरानको यु -१८ टिम नेपालमा जारी काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधवार भएको खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीलाई ३- १ ले हराउँदै लगातारको तेस्रो जित दर्ज गरेको हो। ऊ एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको छ।
लिग चरणको अन्तिम खेल खेलिरहेको एचडीसीलाई सेमिफाइनलमा प्रवेशका लागि जित्नै पर्ने दबाब थियो। पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि घरेलु टोली हेल्प नेपालले पहिलो सेट २५-२२ ले जित्यो। दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो।
जहाँ हेल्प नेपालले यो सेट भने २४-२६ ले गुमायो। खेल १(१को बराबरीमा पुग्यो। यसपछि तेस्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै हेल्प नेपालले सहजै तेस्रो सेट २५-१९ ले जित्दै खेलमा २(१ एकको अग्रता बनायो। यसपछि चौथो सेट पनि सहजै २५-२१ ले माथ दिंदै तीन एकको जित आफ्नो पक्षमा हात पार्यो।
लगातारको तेस्रो जितमा ८ अंक बनाएको हेल्प नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ। हेल्प नेपालले यसअघि पहिलो खेलमा भारतको क्यालिकटलाई ३-२ ले र दोस्रो खेलमा नेपालकै गण्डकी प्रदेश भलिबल संघलाई सोझो सेटमा हराएको थियो।
एचडीसीको भने यो तेस्रो हार हो। गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले पराजित गर्दै जितबाट सुरूवात गरेको एचडीसीले यसपछि इरानको यु-१८ र भारतको क्यालिकटसँग लगातार दुई खेलमा पराजित भएको थियो।
अब भोलि लिग चरणको अन्तिम दुई खेल हुनेछन्। यसपछि चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।
भारतको क्यालिकटलाई हराउदै इरानको यु १८ टोली सेमिफाइनलमा
इरानको यु १८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलमा पुगेको छ।
भारतको क्यालिकटलाई बुधवार सोझो सेटमा माथ दिंदै इरानको युवा टिमले ७ अंक बनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको क्यालिकट र इरानको टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो। तर युवा इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहयो।
पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि २७-२५ ले इरानले जित्यो। एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालिकट खेलमा फर्कन सकेन। सहजै इरानको यु -१८ टिमले २५-२२ ले जित्यो।
खेलमा २-० को स्पष्ट अग्रता कायम गर्यो। तेस्रो सेटमा इरानले १६-१३ को अग्रता लिएको थियो। तर यो अग्रता तोड्दै क्यालिकटले इरानलाई एक समय १७-१८ ले पछि पारेको पनि थियो।
तर यो अग्रतालाई निरन्तरता दिन सकेन। युवा टिमले यसपछि लगातार जस्तै अंक जोड्यो र २५-२० ले तेस्रो सेट पनि जित्यो। यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएको छ। एक खेल अगाडि नै सेमिफाइनलमा स्थान बनाउन सफल रहयो।
इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ को सेटमा हराएको थियो। पराजित क्यालिकटको भने यो दोस्रो हार हो।
क्यालिकट पहिलो खेलमा टिम टप हेल्प नेपालसँग हारेको थियो। दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई हराएपनि आज इरानसँग सोझो सेटमा पराजित भयो। उसले ३ खेलबाट मात्र ४ अंक बनाएको छ।