Prakash Adhikari December 12, 2024

काठमाडौं, २७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर विरानगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका छन्।

आजको खेलमा विजेता बन्ने टोलीले प्लेअफको झिनो सम्भावना कायम रहन्छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ ।

लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो ।

सुरुवाती दुवै खेल हारेको विराटनगरले तेस्रो खेलमा भने जित हात पारेको थियो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो । चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो ।

मंगलवार कर्णाली याक्ससँग खेलेको पोखराको ३ टोलीमा परिवर्तन भएको छ । आकाश चन्द, दीलिप नाथ र म्याट क्रिट्ली बेन्चमा रहँदा किरण ठगुन्ना, तृत राज दास र जेन मल्लिकले खेलमा मौका पाएका छन् ।

पोखरा एभेन्जर्सको प्लेइङ ११ मा कुशल भुर्तेल, किरण ठगुन्ना, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, नारायण जोशी, तृत राज दास, विपिन खत्री, आन्द्रेस गौस(विकेटकिपर), रेमन रिफर र जेन मल्लिक रहेका छन् ।

शनिवार कर्णाली याक्ससँग खेलेको विराटनगरको टिममा २ परिवर्तन भएको छ । कर्णालीविरुद्ध खेलेका अकिब इल्यास र सुवास भण्डारी बेन्चमा रहँदा स्कट एडवार्डस् र अनिल खरेलले खेलमा मौका पाएका छन् ।

विराटनगर किंग्सको प्लेइङ ११ मा सन्दीप लामिछाने, लोकेश बम, मार्टिन गप्टिल, क्रिस सोल, निकोलस कीर्तन, प्रतिस जिशी, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, नरेन भट्ट र स्कट एडवार्डस रहेका छन् ।

Share Now