काठमाडौं, २८ मंसिर । मलेसियामा आगामी साता सुरू हुने एसीसी यू १९ महिला एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गरी टोलीको बिदाई गरेको हो । यू १९ महिला एसिया कप यही डिसेम्बर १५ देखि सुरू हुँदै छ ।
नेपाल, भारत र पाकिस्तान समूह बी मा छ । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ । समूह ए मा आयोजक मलेसियासँगै श्रीलंका र बंगलादेश छन् ।दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।
क्यान कार्यसमिति सदस्य आयुष श्रेष्ठले नेपाली यू १९ महिला टोलीले यू १९ टी २० विश्वकप समेत खेल्ने लागेको यू १९ एसिया कप त्यसको तयारीको रुपमा हुने बताए । ‘हामीले यू१९ एसिया कपमा भारत र पाकिस्तान जस्तो टिमसँग खेल्न पाउँछौँ । त्यसमा हामीले एक्सपोजर लिने अवसर पाउनेछौँ ।’
नेपाली युवा टोलीले यू १९ विश्वकप एसिया छनोटको उपाधि जितेर विश्वकपमा स्थान बनाउँदै आफूलाई प्रमाणित गरेको र अब आउने खेलमा पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको श्रेष्ठले बताए ।
यसैगरी यू १९ महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले यू १९ एसिया कपका लागि राम्रो तयारी भएको र उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
यसैगरी यू१९ महिला टिमकी कप्तान पुजा महतोले क्याम्प राम्रो भएको र यू१९ एसिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।
क्यानले पूजा महतोको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।छनोट खेलेकी मनिषा उपाध्यया टिम बाहिर हुँदा किरणकुमारी कुँवर र अनु कडायत टिममा थपिएका छन् । बाँकी १३ खेलाडी टिममा यथावत नै छन् ।
उपकप्तानमा सोनी पाख्रिन छन् । यस्तै अन्य खेलाडीमा, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, एलिसा कुमारी यादव, कृष्मा गुरुङ, तृष्णा विक, रिया शर्मा, रचना चौधरी, सिमाना केसी र स्नेहा महराले टिममा निरन्तरता पाएका छन् ।