Prakash Adhikari December 16, 2024

कीर्तिपुर(काठमाडौं), १ पौष । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा स्थान बनाएको छ ।

खेलमा टस जितेर कर्णाली याक्सले दिएको १ सय २ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यो जितसंगै बुधवार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको छ ।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान ३८ ।३८ रन जोडे । खेलमा ओपनर सेफ जेबले ११ रन जोडे । खेलमा आशिफ शेख र विनोद भण्डारीले समान ४ । ४ तथा ब्राण्डन म्याकमुलनले ३ रनको योगदान दिए ।

सुदूरपश्चिमलाई रोक्ने क्रममा कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १ । १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रनको योगफल तयार गरेको थियो।

कर्णालीका जिशान मक्शुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । कर्णालीका लागि विलियम वोसिस्टोले १६, वावर ह्यातले १३, कप्तान सोमपाल कामी र चाडविक वाल्टनले ११ । ११, देव खनालले ७ , अर्जुन घर्तीले ३ रन र गुलशन झाले २ रनको योगदान गरे । नन्दन यादव,रित गौतम र विपिन शर्माले कुनै रन जोड्न सकेनन् ।

सुदूरपश्चिमले १२.२ ओभरमा लक्ष्य पूरा गरेमा काठमाडौं गुर्खाजले प्ले अफमा स्थान बनाउने अवस्था रहेको थियो । तर, त्यो सम्भव हुन नसक्दा काठमाडौं प्रतियोगिताबाट बाहिरियो ।

Share Now