Prakash Adhikari December 16, 2024

 

क्वाललम्पुर(मलेशिया), १ पौष । नेपालका १९ बर्ष मुनिको उमेर समूहका महिला खेलाडीहरुले मलेशियामा भैरहेको एसीसी यु १९ महिला एसिया कपमा शानदार प्रदर्शन गरेका छन् । उनीहरुले आज आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन् ।

समूह चरणको खेलमा प्रतिस्पर्धी पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

नेपालले १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक ४७ रन जोडिन् । उनले ४७ बलमा ४ चौका प्रहार गरिन् ।नेपालका लागि सावित्री धामीले १६, सोनी पाख्रिनले १३, साना प्रवीनले १० रन बनाए । ज्योस्निका मरासिनी शून्य रनमा आउट भइन भने सीमा केसी १२ रनमा नट आउट रहिन ।

नेपाललाई रोक्ने क्रममा पाकिस्तानकी फतिमा खान र कुरातुलाइनले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन् । खेलमा महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडिन् । त्यस्तै झुपिशान ऐयाजले १२, अरिशा अन्सारीले १को योगदान गरिन । फतिमा खान ६ रनमा नटआउट रहिन भने फिजा फैज खाता नखोली आउट भइन ।

पाकिस्तानलाई रोक्ने क्रममा नेपालका लागि कप्तान पूजा महताले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ । १ विकेट आफ्नो नाममा गरे ।

नेपाली यु १९ महिला टोलीले मंगलवार यु १९ भारतीय महिला टोलीसँग प्रतिस्पर्धा गदैछ ।

Share Now