Prakash Adhikari December 18, 2024

 

कीर्तिपुर(काठमाडौं), ३ पौष । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जनकपुरले दिएको १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । एनपीएलमा आफ्नो पहिलो अर्धशतक विनोदले ४१ बलमा पूरा गरे । पहिलो विकेटका लागि सेफ अलि जेबसँग मिलेर ५६ रनको साझेदारी गरेका थिए ।

जेब २१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । जेब किशोर महतोको बलमा जेम्स निशमद्वारा समातिए । दोस्रो विकेटका लागि ब्रेण्डन मक्मुलनसँग मिले विनोदले ५९ रनको साझेदारी गरे । मक्मुलनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । मक्मुलन ललितनारायण राजवंशीको बलमा जेम्स निशमबाट बाउन्ड्रिमा समातिए ।

सुदूरपश्चिमलाई रोक्ने क्रममा जनकपुरका लागि किशोर महतो र ललितनारायण राजवंशीले समान १ । १ विकेट लिए ।

दोस्रो विकेटका लागि भण्डारी र कप्तान दीपेन्द्र सिंह ऐरीले नट आउट २६ रनको साझेदारी गरे । कप्तान दीपेनद्रले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्यो ।

जनकपुरका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । खेलमा शुभ कसांकारले २६ रन, लाहिरु मिलन्था र हर्ष ठाकरले १२ । १२ रन , आशिफ शेख र अरनिको यादवले ११ । ११ रन, आकाश त्रिपाठीले ४ , मोहम्मद मोहसिन र शेर मल्लले ३ । ३ र किशोर महतोले २ रन जोडेका थिए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ । १ विकेट लिए ।

सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको एनपीएलको फाइनलमा स्थान बनाएको छ। पराजित जनकपुरले फाइनल प्रवेशका लागि इलिमिनेटर खेलमा विजयी भएको कर्णाली याक्ससंग खेल्न पाउँनेछ ।

बिहीवार हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र यस खेलको पराजित टोली जनकपुर बोल्ट्सले खेल्नेछन् ।

दोस्रो क्वालिफायर खेल बिहीवार हुनेछ ।

दोस्रो क्वालिफायरको विजेता र पहिलो क्वालिफायरको विजेता सुदूरपश्चिमले उपाधिका लागि खेल्नेछन् ।

Share Now